- सूर्य खड्का -
गृहनगरमा हार
डाक्टर भट्टराईको पार्टी र संघीय समाजवादी फोरमबीचको तालमेलमा उम्मेदवार बनेका अशोक देवकोटाले सुरुवातमा अग्रता लिएको भए पनि तेस्रोमा सीमित हुनपुगे। नयाँ शक्ति तथा संघीय समाजवादी फोरमका उम्मेदवार अशोक देवकोटाले ३ हजार ८ सय ३० मत हासिल गरे। उनले भन्दा बढी मत नेकपा माओवादी केन्द्रका उम्मेदवार विवश चिन्तनले पाए। चिन्तनले ४ हजार ३० मत ल्याए।आवरणामा यो हार अशोकको भए पनि खासमा यो पराजय डा. बाबुरामको हो, नयाँ शक्तिको मात्रै हो किनभने अशोक देवकोटा त केवल मोहरा मात्रै हुन्। पार्टीका संयोजक वा नेता डा. बाबुराम नै हुन्।
कांग्रेसका उम्मेदवार इन्जिनियर दीपकबाबु कँडेलले ४ हजार २ सय मत ल्याएर डाक्टर बाबुराम भट्टराईको केन्द्रमा आफ्नो वर्चश्व कायम गर्न सफल रहे। जीवनभरका सबै परीक्षामा प्रथम हुँदै जीत हात लगाउने बानी परेका नयाँ शक्तिका संयोजक डा. बाबुरामले संघीय गणतन्त्र नेपालको पहिलो चरणको पहिलो स्थानीय तह चुनावमा पाएको यो पहिलो हार हो।
निश्चयनै पहिलो चरणको स्थानीय तहको चुनावी प्रारम्भिक नतिजाहरुमा ठूलो राजनीतिक झट्का अग्लो कदका ठूला नेताहरुलाई लागेको छ । र, त्यसको पहिलो प्रहारमा डा. बाबुराम परेका छन्। यो ताजा चुनावी नतिजाले देखाएको चित्र हो। दशकौं लामो संर्घषशील वाम राजनीतिलाई त्यागेर नयाँ शक्ति नामक नयाँ दल नै बनाएर वैकल्पिक प्रजातान्त्रिक शक्तिको अभियानमा लागेका डा. बाबुराम भट्टराईको दल पहिलो चरणको स्थानीय चुनावमा वैकल्पिक शक्तिका रुपमा उदाउने संकेत नै देखाउन सकेन। गृहनगरमा डा. बाबुरामलाई लागेको यो निकै ठूलो राजीनीतिक चोट हो ।
सुरुमा नै चुनाव चिन्ह आँखासहित चुनाव लड्न नपाएका उनले उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग चुनाव चिन्ह मसाल सापटी लिए। तर २८३ स्थानीय तह मध्ये नयाँ शक्ति गठबन्धनका उम्मेद्वारहरुले अपेक्षाकृत चुनावी चर्चा पनि बटुल्न सकेनन् भने चुनावी मैदानका उम्मेद्वारहरुले पनि खासै अग्रता लिन सकेका छैनन्। केही जिल्लामा नगन्य बाहेक नयाँ शक्ति र संघीय गठबन्धनका उम्मेद्वारले उल्लेख्य अग्रता लिन सकेका छैनन्।
महानगरमा अस्वीकृत नयाँ पवित्रमान
काठमाडौँ महानगरपालिकामा नै पनि नयाँ शक्ति र संघीय समाजवादीका साझा उम्मेद्धवार मेयरका प्रत्याशी पवित्रमान बज्राचार्यले नयाँ तरंग ल्याउन नै सकेनन्। यहाँ नयाँ शक्ति नै अस्वीकृत भएको मतादेश देखियो। बज्राचार्य भन्दा पनि माथि नयाँ दलहरु विवेकशील नेपालीकी रन्जु न्यौपाने र साझा पार्टीका किशोर थापाले प्रारम्भिक नतिजामा अग्रता हासिल गरेका छन्। पवित्रमान काठमाडौँ महानगरभित्रका प्रखर समाजसेवी र सामाजिक कार्यकर्ताका रुपमा पनि बेग्लै छवि बनाएका पूर्व एमाले नेता हुन्। उनी स्थानीय रैथाने भएका कारण उनीबाट नयाँ शक्तिको गठबन्धनले महानगरमा राम्रै हैसियत देखाउने अपेक्षा राखेको थियो। तर अपेक्षाकृत उनी चम्कन सकेनन्।प्रारम्भिक नतिजालाई आधार मान्दा डा. बाबुरामले चाहेको नयाँ शक्तिका रुपमा काठमाडौँमा बरु साझा पार्टी र विवेकशील नेपाली दल नै अग्रस्थानमा मतादेशबाट स्वीकृत हुने लक्षणहरु स्पष्ट हुँदै गएका छन्।
देशका भूतपूर्व प्रधानमन्त्री, आफ्नो कार्यकालका सबैभन्दा सफल अर्थमन्त्री र नेपालकै औँलामा गनिने मध्येका विद्वान डा. बाबुरामको यो स्तरको चुनावी परिणमको संकेतले उनले दशकौं लामो माओवादीको लाल क्रान्तिकारी राजनीतिक जीवनबाट लिएको पारपाचुकेको निर्णय नै गलत त थिएन भन्नेसम्मको प्रश्न पनि उठाएको छ।
परिपक्व बाबुराम र अल्लारे विवेकशील
तुलना नै गर्ने हो नयाँ शक्ति र विवकेशीलको राजनीतिक नेतृत्वबीच भने पनि आकाश पातालको फरक छ। राजनीतिक रुपमा परिपक्व हुन् बाबुराम तर अल्लारे ठिटाको दल हो विवेकशील। तर डा. बाबुरामको नयाँ वैकल्पिक शक्ति भनिएको दल चुनावी समरमा हराउँदै जाँदा विवकेशील दलकी रन्जु दर्शना र साझा पार्टीका किशोर थापा भने राजधानीमा नयाँ वैकल्पिक नेताका रुपमा टक अफ द टाउन पात्र बनिरहेका छन्। साझा पार्टीका मेयर प्रत्याशी थापा र विवेकशीलकी रन्जुले नयाँ शक्ति गठबन्धनका प्रत्याशी पवित्रमानलाई पछि पार्दै चर्चा मात्रै बटुलिरहेका छैनन्, डा. बाबुरामको लाइन र परिभाषाको नयाँ वैकल्पिक राजनीतिक शक्तिको रुपमा किशोर र रञ्जुलाई उभ्याउने लक्षण देखाएका छन्। राजधानीवासीले परिवर्तन र नयाँपन चाहेको तर बाबुरामलाई स्वीकार नगरेको जनादेश देखिन्छ।सोच, प्रयोग र प्रयास डा. बाबुरामको पहिलो भए पनि उनले चुनावी संघर्षमा मतदाताको मन जितेर तरंग ल्याउन नसकेको चाहिँ प्रारम्भिक चुनावी नतिजाले संकेत गरेकै हो। जसरी विवकेशील र साझा पार्टी मिलेका भए केही शक्ति बन्ने रहेछ भनेर शहरी चर्चा चुलिएको छ, त्यही अनुपातमा डा. बाबुरामको चर्चा भने यो चुनावी मौकामा भैरहेको छैन।
चुनावमा उनलाई नै ओझेलमा पार्ने गरी किन साझा पार्टी र विवेकशीलको चर्चा चुलियो र सुरुवाती मत गणनामा उनीहरु नै अघि आए भन्ने तथ्यको खोजी गर्नु पनि नयाँ शक्तिका लागि निकै महत्वपूर्ण हुन गएको छ। किनभने तराई मधेश क्षेत्र र कतिपय हिमाली र पहाडी जिल्लामा पनि राम्रो पकड भएको मानिएको संघीय समाजवादीसँग तालमेल गर्दा पनि विवेकशील र साझाभन्दा कम स्थान र चर्चामा नयाँ शक्ति दरिने लक्षण उसको दावी अनुसार ऊ नयाँ वैकल्पिक प्रजातान्त्रिक शक्तिका रुपमा उदाउन नसक्ने पूर्वसंकेत नै हुन पुगेका छन्।
बीबीसीका पूर्व पत्रकार रविन्द्र मिश्रको संयोजकत्वमा गठन भएको र पार्टीको स्वरुपमा दलीय हैसियत र चुनाव चिन्ह नै पाइनसकेको साझा पार्टी र कुनै लामो राजनीतिक पृष्ठभूमि नै नभएकी र उमेरले पनि सबैभन्दा कम उमेरकी रन्जुका तुलनामा नयाँ शक्ति र डा. बाबुराम नै ओझेल पर्दै गएको पहिलो चरणको स्थानीय चुनावको प्रारम्भिक नतिजा पनि उनको दल र अभियानको नयाँ बाटो तय गर्न मार्गदर्शक होला कि !
रोचक चोट
थप रोचक कुरा त माओवादी र कांग्रेस मिलेर हराइिदए गृह नगरमा डा. बाबुरामलाई। २०५२ सालमा तत्कालीन शेरबहादुर देउवा सरकारलाई ४० बूँदे माग राखेर जंगल पसेका डा. बाबुरामले आफू सरकारमा हुँदा तिनै आफूले पेश गरेका ४० सूत्रीय मागको खिल्ली उडाएका थिए। अहिले कांग्रेस सभापति उनै देउवा छन्, देउवा नै उनका पूर्व कमाण्डर प्रचण्डका सत्तासारथी भएका छन्। हिजो टाउकाको मोल तोक्नेका सारथी प्रचण्डले नै गृहनगरमा उनलाई तेस्रो बनाइदिएका छन्।सँधैभरी माग राख्ने नानीदेखिको बानी उस्तै छ डा. बाबुरामको। प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, चुनाव खर्च राज्यले व्यहोर्ने व्यवस्था हुनु पर्ने, संघ, प्रदेश र स्थानीय तहको निर्वाचन एकैपटक गर्न पनि नहुने जस्ता उनका माग पनि यो ताजा मतादेशले अस्वीकृत भएका छन् निराशालाग्दो चुनावी परिणामसँगै।
रातो विगत, कालो वर्तमान
जनयुद्धलाई बिर्सँदा पनि शान्ति राजनीतिमा उनको भूमिका निकै सन्देहास्पद रह्यो। उनी न रहे वाम माओवादी, न उम्दा प्रजातन्त्रवादी शान्ति पूजारी। आम नेपालीलाई थाहा छ, पहिलो संविधानसभा बिना संविधान मृत हुनुमा बाबुरामकै तत्कालीन सरकार जिम्मेवार थियो। जनतालाई यो पनि थाहा छ, त्यो संविधान सभालाई बिना उपलब्धि मृत्युमा धकेल्ने सरकारका प्रमुख थिए डा. बाबुराम भट्टराई। उतिबेलाका माओवादीका वरिष्ठ उपाध्यक्ष। दोस्रो संविधानसभा चुनाव गैर दलीय सरकारको नेतृत्वमा हुने गरी राजनीतिमा न्यायालयलाई मिसाएर खिलराज रेग्मी नेतृत्वको निर्दलीय सरकारको रचना र स्थापनामा सबैभन्दा उच्च योगदान थियो उनै एकीकृत माओवादीकालीन उपाध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री डा. बाबुरामकै।वर्तमान संविधान कुनै पनि कारणले सर्वस्वीकार्य र अपनत्वविहीन छ भने त्यसको सूत्रधार अनेकन पात्र र प्रवृत्ति मध्ये शीर्ष एक हुन् डा. बाबुराम नै। किनकि पहिलो कुरा उनी संविधान निर्माणको सबैभन्दा महत्वपूर्ण समिति राजनीतिक संवाद तथा सहमति समितिका सभापति थिए। उनले अरु त अरु डा. सिके राउत जस्ता विखण्डनकारीको पनि सिंहदरवारमै स्वागत गरेर संविधान रचनाको लागि भन्दै मान्यता दिने गरी कथित राय सुझाव लिएका हुन्। दोस्रो उनै डा. बाबुरामले संविधान छिटो जारी गर्ने नाममा यति धेरै विवादास्पद कुरा संविधानमा समेटे कि यो मधेश अन्दोलन र असन्तोषको मुहान बन्यो।
अझ महत्वपूर्ण तेस्रो कुरा जब संविधान २०७२ असोज ३ गते संविधानसभा भवनमा तत्कालीन राष्ट्रपति डा. रामवरण यादवद्वारा बडो भावुक शैलीमा सार्वजनिक हुँदै थियो, एक निमेषमै बाहिर निस्किएर उनै डा. बाबुराम कुर्लिए, यो संविधान अपूर्ण छ, त्रुटीपूर्ण छ। त्यसलगत्तै उनी मधेशतिर झरे। अनि संविधान जलाउने सभाहरुको कुशल नेतृत्व गरे। संविधानको स्वागतमा देशभर दीपावली हुँदै गर्दा डा. बाबुराम संविधान जलाउने मशाल बोकेर देश दौडाहामा लागे। तर उतिबेला संविधान जलाउँदै नयाँ मधेश मसिहा बन्ने डा. बाबुरामको तुरुप हावा खायो। उनी मधेशी जनतामा पनि उनीहरुका जननेता बन्न चुके।
अनि उनी कहिले उम्दा प्रजातन्त्रवादी, त्यागी बन्दै सभासद पद त्याग्न पुगे। कहिले खुंखार प्रजातन्त्रवादी हुँदै आफ्नै माउ पार्टी माओवादीको उछितो काढ्न पुगे त कहीले नयाँ शक्ति नामक डेट एक्स्पायएरहरुको झुण्ड बनाउन पुगे। तर नयाँ शक्तिको उनको दल, दल नबन्दै खिया लाग्न थाल्यो।
यस प्रकार माओवादी शान्ति राजनीतिमा आएदेखि नै कुनै न कुनै रुपमा राजनीतिक कलह, संकट र समस्या खडा गर्न माहिर डा. बाबुरामले करिब दुई दशकपछि प्रचण्ड सरकारले गराएको स्थानीय चुनाव रोक्न, भाँड्न र असफल पार्न अराजनीतिक हर्कत गरेकै पनि हुन् तर सकेनन्।
नयाँ शक्ति नेपालले चुनावका लागि वार्तावरण बनाउन आग्रह गर्दै ६ शर्त अघि सारेको थियो जसलाई सरकारले सुनेन। उसले असन्तुष्ट पक्षको माग सम्बोधन गर्न संविधान संशोधनलाई पहिलो शर्त बनाए पनि कुनै माछो मारेन।
पूर्व माओवादी नेताहरुको अगुवाई र डा. बाबुरामको नेतृत्वमा गठित नयाँ शक्ति केन्द्रमा तामझामका साथ उदाएको तर जनस्तरमा कुनै सकारात्मक प्रभाव पार्न नसकेको जनतासँग अनटेष्टेड नयाँ दलको पहिलो चुनावी टेष्टमा उनी हारेका छन्। सुरूदेखि नै आफैमा फुटपरस्त हुँदै आएको उनको दल अब जुन जोगी आए पनि कानै चिरेका भन्ने तहमा झरेको नै सत्य हो। नयाँ दलले सत्तामा नबसी चुनाव सामना गर्दा पाएको यही मतादेश नै उसको असली राजनीतिक औकात हो।
डा. बाबुराम जस्ले यो संविधानको रचना गरे, अनि त्यही संविधानले अनिवार्य र निर्विकल्प गरेको स्थानीय चुनाव रोक्न नसकेपछि भाग लिएको चुनाव उनका लागि निकै ठूलो सबक हो। र त उनले चुनावी परिणामबारे ठूला दललाइ साँढे र नयाँ शक्तिलाई बाच्छो भन्दै आत्मरति लिइरहेका छन्, जो केवल उनको मन बुझाउने मेलो मात्रै हो। चुनावी परिणाम निराशाजनक भए पनि उनले हार स्वीकार गरेर भने निकै उदार छाती देखाएका छन्। यो उनको विवेकसम्मत कदम हो।
पहिलो चरणको पूरै परिणामपछि र ३१ जेठको चुनावपछि नै अन्तिम दलीय हैसियत खुल्ने भए पनि बाबुराम जत्तिका नेताका लागि यो मतादेश शिक्षा नै हो।