
काठमाडौं : बंगलादेश र भारत आईटीएफ एसियाली यु–१२ टिम च्याम्पियनसिपको दक्षिण एसियाली छनोटमा शुक्रबार पहिलो भएका छन्। बंगलादेश ब्वाइज तथा भारत गर्ल्समा विजेता बनेको हो।
सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइज फाइनलमा बंगलादेशले नेपाललाई ३–० ले पराजित गर्यो।
पहिलो सिंगल्समा बंगलादेशका रोमन मोहमद होसैनले नेपालका आरभसम्राट हाडालाई ६–३ र ६–२ को सोझो सेटमा पराजित गरे भने अर्को सिंगल्समा बंगलादेशका हसन माहादी अल्भेले नेपालका आर्यन गिरीलाई ६–२ र ६–३ को सोझो सेटमा हराए। डबल्समा बंगलादेशका रोमन र जुवैद उत्सोको जोडीले नेपालका आरभ र अकी जुवेन रावतको जोडीलाई ६–३ र ६–३ को सीधा सेटमा पराजि गरे।
ब्वाइजमा बिहीबार नेपालसंग सेमिफाइनलमा पराजित भारतले भुटानलाई ३–० ले हराउँदै तेश्रो स्थानमा चित्त बुझायो।
गर्ल्सको फाइनलमा भारतले श्रीलंकालाई ३–० ले हरायो। सिंगल्समा भारतकी स्वेता समान्ताले श्रीलंकाकी देवमिनी वार्नासुरियालाई ६–० र ६–० तथा भारतकी अन्जली राथीले श्रीलंकाकी हेसानी इमांगालाई ६–१ र ६–१ को सोझो सेटमा हराए। डबल्समा भारतका श्रुति अहलावत र अन्जलीको जोडीले श्रीलंकाका हेसानी र देवमिनीको जोडीमाथि ६–० र ६–० को जित निकाले।
अखिल नेपाल लनटेनिस संघद्वारा आयोजित प्रतियोगिताको गर्ल्समा नेपाल तेश्रो भयो। नेपालले बंगलादेशलाई ३–० ले पराजित गर्यो।
सिंगल्समा नेपालकी सर्भानी श्रेष्ठले बंगलादेशकी दिपानिता मित्रलाई ६–२ र ६–० को सोझो सेटमा पन्छाइन्। अर्को सिंगल्समा नेपालकी ईशाश्री शाहले बंगलादेशकी सादिया अफ्रिनको चुनौती ६–२ र ६–१ ले समाप्त पारिन्। डबल्समा नेपालका सुभांगीलक्ष्मी शाह र सर्भानीले बंगलादेशी जोडी मास्फिया अफ्रिन र दिपानितालाई ६–१ र ६–२ को सोझो सेटमा हराए।
ब्वाइजमा नेपाल र बंगलादेश तथा गर्ल्समा भारत र श्रीलंका काजाकिस्तानमा नोभेम्बरमा हुने आईटीएफ एसियाली यु–१२ टिम च्याम्पियनसिपका लागि छनोट भइसकेका छन्। फाइनलअघि नै उक्त ४ राष्ट्रले काजाकिस्तानको यात्रा पक्का गरेका हुन्।
यो प्रतिस्पर्धाबाट ब्वाइज/गर्ल्स दुवैमा फाइनल पुग्ने दुई टोली काजाकिस्तानको च्याम्पियनसिपलाई छनोट हुने प्रावधान छ।
प्रतियोगिताको ब्वाइजमा नेपाल, बंगलादेश, भुटान, भारत, माल्दिभ्स, पाकिस्तान र श्रीलंका गरी ७ राष्ट्रका २० खेलाडीले प्रतिस्पर्धा गरेका थिए। गर्ल्समा पाकिस्तान बाहेक छ राष्ट्रका १७ खेलाडी सहभागी थिए।
छनोटसहित लनटेनिस संघले ९ महिनाको अवधिमा तीन अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरेको यो तेस्र पटक हो।
यसअघि २०१६ को सेप्टेम्बरमा एएनएलटीए/एसियाली र्याङकिङ यु–१४ टेनिस प्रतियोगिता भएको थियो भने गत फेब्रुअरीमा नेपाल आईटीएफ यु–१८ जुनियर ग्रेड– ५ टेनिस प्रतियोगिता संघले आयोजना गरेको थियो।