काठमाडौंः नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा। बाबुराम भट्टराईले पुराना राजनीतिक शक्तिले पैसा, बाहुवल र सत्ताको दुरुपयोग गरी निर्वाचनमा जीत हासिल गरेका आरोप लगाएका छन् ।
पहिलो चरणको निर्वाचन सम्पन्न भएपछि शनिबार विहान विज्ञप्ति जारी गर्दै संयोजक भट्टराईले निर्वाचनमा पुराना शक्तिहरुले पैसा, बाहुवल र सत्ताको खुलेर प्रयोग गरेकाले धेरै ठाउँमा वैकल्पिक राजनीतिको प्रतिवद्ध मत सुरक्षित गर्न कठिन भएको अरोप लगाएका हुन्।
विज्ञप्तीमा भट्टराईले भनेका छन्, ‘छोटो समयमै पनि पुराना राजनीतिक शक्तिहरुको विकृति र विसंगतिका कारण त्यहाँबाट विकर्षित भएर विकल्पको लागि जोखिम मोल्न हिम्मत देखाउनु हुने सम्पूर्ण मतदाताहरुप्रति हामी आभार व्यक्त गर्दछौं।’
उनले निर्वाचनको परिणामलाई स्वीकार गर्दै नयाँ शक्ति पार्टीलाई अझै नयाँ र वैकल्पिक राजनीतिक शक्तिको रुपमा विकास गर्न थप मेहनत गर्नु पर्ने शिक्षा प्राप्त गरेको उल्लेख गरेका छन् ।
भट्टराईले विज्ञप्तिमा भनेका छन्–‘वैकल्पिक राजनीति आजको भोलि नै सत्ता प्राप्त गर्ने राजनीति होइन। हामी यो फोहोरी राजनीतिको तत्कालीन लाभ उठाउन यो यात्रामा छैनौं। बरु यो मौजुदा राजनीतिको अर्थहीनतालाई चुनौती दिन र नयाँ राजनीतिक संस्कार र प्रणाली स्थापना गर्ने यात्रामा छौं ।’