- नरहरि पौड्याल
पोखरा : लेखनाथ महानगरपालिकामा भइरहेको सम्पूर्ण स्थानको मतगणना रोकिएको छ। वडा नम्वर १७ को मतगणना क्रममा केही मतपत्रमा लगाइएको स्वस्तिक छाप र निर्वाचन अधिकृतको सहीका बारेमा आशंका व्यक्त गरी एमाले बाहेकका पार्टीहरु बाहिरिँदै अन्य वडाको मतगणनामा सहभागी नहुने निर्णय गरेपछि सबै ठाउँको मतगणना स्थगित भएको हो।
वडा नम्वर १७ को मतपत्रमा लगाएको स्वस्तिक छाप केही ठूलो भएको भन्दै विवाद उत्पन्न भएपछि मतगणना स्थगित भएको थियो। उक्त वडाको १४ सय भन्दा बढी मतगणना भएपछि एमालेको सूर्य चिन्हमा शंकास्पद छाप लगाएको आशंकामा मतपत्र भेटिएको भन्दै विवाद भएको हो।
कांग्रेसका मेयरका उम्मेदवार रामजी कुँवरले वास्तविकता के हो आयोगले सत्य तथ्य पत्ता लगाउनु पर्ने बताए। उनले फरक प्रकृतिको छाप भएका मतपत्र भेटिएकोले मतगणना स्थगित गर्नुपरेको बताए।
क्षेत्रीय निर्वाचन कार्यालय पोखराका प्रमुख गंगालाल सुवेदीले यस विषयमा छलफल गरेर अगाडि बढिने बताए।
मतपत्रमा फरक रंग र साबिकको भन्दा ठूलो आकारको छाप लगाएको ८ भन्दा बढी मतपत्र भेटिएको भन्दै कांग्रेस लगायतका अन्य पार्टीले विवाद सुरु गरेपछि मतगणना स्थगित हुन पुगेको हो।
विवादका सम्वन्धमा छलफल गर्न अहिले पार्टीहरुको सहभागितामा सर्वदलीय बैठक बसिरहेको छ। बैठकले मतगणनाका सम्वन्धमा निर्णय गर्ने छ।