काठमाडौँ : एमालेले दोश्रो चरणको स्थानीय तह निर्वाचनका लागि उम्मेद्वार सिफारिस गर्न पार्टी मातहतका कमिटीहरुलाई निर्देशन दिएको छ।
एमाले स्थायी समितिको बैठकले पहिलो चरणको निर्वाचनका दौरान सत्ता संरक्षीत अराजनीतिक गतिविधि र धाँधली छानविनको समेत माग गरेको छ।
एमाले स्थायी समिति बैठकपछि प्रचार विभाग प्रमुख योगेश भट्टराईले जारी गरेको विज्ञप्तीमा भनिएको छ – 'स्थानीय तहको पहिलो चरणको निर्वाचनमा देशका विभिन्न भागमा सत्ता संरक्षित अराजनीतिक गतिविधि तथा धाँधलीका बारेमा छानविन गर्न र दोषिउपर कारवाही गर्न तत्काल संसदीय समिति निर्माण गर्न बैठकले माग गरेको छ।'
बैठकले सरकारका तर्फबाट व्यवस्थापिका संसदमा दर्ता गरिएको संविधान संशोधन विधेयक फिर्ता लिन तथा प्रधानन्यायाधीश माथि लगाइएको महाअभियोग प्रस्ताव फिर्ता लिन माग गरेको छ।
साथै दोस्रो चरणको स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण ढङ्गले अघि बढाउन सरकारको गम्भीर ध्यनाकषर्ण गराएको छ।
एमालेले दोस्रो चरणको निर्वाचनका लागि अविलम्ब उम्मेदवारको निर्णय र सिफारिस गर्न मातहत पार्टी कमिटीलाई निर्देशन गरेको छ।
एमाले बैठकले स्थानीय औचित्य र आवश्यकताको आधारमा पार्टीको नेतृत्वसँग समन्वय गरी चुनावी ताममेल गर्नसक्ने अधिकार स्थानीय पार्टी कमिटीहरुलाई प्रदान गरेको छ।
रसुवाको स्याफ्रुबेसीका नेकपा (एमाले)का समर्थक फुर्पु साङ्वो तामाङलाई केही अपराधिक व्यक्तिहरुले ज्यान लिने उद्देश्यले आक्रमण गरी घाइते बनाएकोमा घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ।