PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

मत गणना नसकिँदै सर्वोत्तमको 'सरेन्डर', भन्छन् : प्रधान न्यायाधीश र आइजीपी हारको कारण



सविन ढकाल

मत गणना नसकिँदै सर्वोत्तमको 'सरेन्डर', भन्छन् : प्रधान न्यायाधीश र आइजीपी हारको कारण

काठमाडौ : धेरैको चासो यतिखेर काठमाडौं महानगरपालिको मेयर पद कस्ले जित्ला भन्नेमा छ। मतगणना भइरहेको स्थल सभागृहमा बाहिर पनि मतगणनाको परिणाम सुन्न आतुर समुह दिनमा मात्र होइन रातमा समेत जागा छन्। मेयरदेखि वडा सदस्यका उम्मेद्वार समेत आफ्नो नतिजा के होला भनेर भोक निन्द्रा नै बिर्सिएर मतपरिणाम कुरिरहेका छन्।

सबैमा एक किसिमको कौतुहलता छ। तर, यही वातावरणमा महानगरपालिकामा नेकपा माओवादी केन्द्रबाट मेयरका उम्मेद्वारी दिएका सर्वोत्तम डंगोललाई भने मतगणनाको पछिल्लो परिणामले छोएको छैन। उनी अहिले आफुले जित्ने सम्भावना क्षीण हुँदै गएपछि मतपरिणाम बारे जानकारी नै लिन छोडेका छन्। केही साथीभाइले मतगणनाको बारेमा जानकारी दिए पनि उनी भने आफैँ बुझ्न गएका छैनन्। 

'मेरो पक्षमा परिणाम निस्किन्छ भन्ने आश नै मारिसकेकाले त्यति चासो दिएको छैन, ' उनले सुनाए।

डंगोल झिनो मतका साथ चार जना मेयरका प्रत्यासी भन्दा पछाडि छन्। बुलेटबाट खारिएर ब्यालेटको राजनीतिमा आएको माओवादीलाई उनले मुलुककै पहिलो महानगरबाट नेतृत्व गरिरहँदा भर्खरै खुलेको साझा पार्टी र केही समयअघिमात्रै सक्रिय विवेकशील पार्टीका नेताले पछि पारेका छन्। बलियो पार्टीका उनी कमजोर उम्मेदवार किन भए त?

कम मत आउनुमा पार्टीकै कमजोरी भएको बताउँछन् उनी। 'पार्टीले सारेको एजेन्डा र सरकारले गरेको निर्णयलाई जनतासामु प्रष्ट पार्न सकेन। त्यसैको पराजय हो यो,' उनले दावी गरे। पहिलो चरणको स्थानीय तहको निर्वाचन मत परिणाम आइरहँदा उनको पार्टी तेस्रो स्थानमा छ तर काठमाडौंमा भने उनलाई दुई ठूला र दुई साना दलले उछिनिरहेका छन्। 

प्रधान न्यायाधीश शुशीला कार्की माथि महाअभियोग र डिआइजी नियुक्ति प्रकरणले मत कम आएको उनले बताए। सरकारले राम्रो काम गरे पनि त्यसबारे जनतालाई बुझाउन नसक्दा आफू मारमा परेको उनको भनाइ छ। 

'प्रधानन्यायाधीश र डीआइजी प्रकरणमा सरकारले सहि निर्णय गरे पनि बाहिर भने अनावश्यक हल्ला चलाइयो,' उनले भने, 'त्यसलाई के हो? किन गरेको हो भन्ने प्रस्ट गराउन पार्टी पनि लागेन सरकार पनि लागेन।'

७० हजार मत गणना भइसक्दा उनको खातामा ४ हजार कटेको छैन। त्यसैले पनि उनले परिणाम पूरा नआउँदै हार स्वीकार गरेका छन्। 
डंगोल निर्वाचन भएपछि नै हार्ने निश्चित भइसकेको दावी गर्छन्। 'नेपाली कांग्रेससँग तालमेल मिल्यो भन्ने हल्ला जसरी आयो यसले नि मलाई मत आएन,' उनले आफ्नो हारको कारण यसरी प्रस्टाए, 'तपाईँको उम्मेद्वारी त फिर्ता भएछ नि भनेर धेरैले सोधे।' 

स्थानीय तहको निर्वाचनपछि सरकारले नै घरबहाल कर उठाएर घरबेटीलाई दिने भन्ने समाचार केही संचार माध्यममा आए। यही समाचारले पनि नेवार समुदाएको भोट नआएको उनको तर्क छ। 

'यस्तो निर्णय गर्ने सरकार भएको पार्टीलाई किन भोट दिने भन्ने लागेर भोट हालेनन्,' उनले भने। २०४३ सालको नगर पञ्चायत निर्वाचनमा काठमाडौंबाट प्रधानपञ्चमा चुनाव लडेका थिए उनले। तर, जितेनन्। २०४७ सालपछि संयुक्त बाम मोर्चामा सक्रिय रहे। २०४८ को स्थानीय निकायको निर्वाचनमा संयुक्त बाममोर्चाको तर्फबाट मेयरमा उमेद्वार पनि थिए। त्यहाँ पनि हारे।

२०६२ मा माओवादी बने। एकता केन्द्रसहित उनी छिरेका हुन् पार्टीमा। पहिलो संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नं ८ बाट उठे। माओवादीहरुले देशभर लहर ल्याउँदा आफ्नो क्षेत्रमा तेस्रो बने यिनी।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell