PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

महालक्ष्मी नगरपालिकामा ३ मतको किचलो



उमेश पौडेल

ललितपुर : ललितपुरको महालक्ष्मी नगरपालिकाको वार्ड नं ६ को विवाद अझैसम्म टुड्गो लागेको छैन। नेकपा माओवादी केन्द्रले दुई सय २० मत हराएको भन्दै निर्वाचन आयोगमा उजुरी दिएपछि परिणाम स्वीकार नगरेको हो। 

यसअघि शुक्रवार नै महालक्ष्मी नगरपालिका ६ वडाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेद्वार वासुदेव महर्जन ३ मतले विजयी भएको मुख्य निर्वाचन अधिकृतले घोषणा गरेका थिए।

माओवादी केन्द्रका वडा अध्यक्षका उमेद्वार महेन्द्रकुमार महर्जनले वासुदेवभन्दा तीन मत कम पाएपछि पुन: मतगणना गर्नुपर्ने माग गरेर निर्वाचन आयोगमा उजुरी दिएका थिए। तर प्रमुख निर्वाचन अधिकृतले नियमसंगत तरिकाले राजनीतिक पार्टीहरुले नै प्याक गरेको पतपेटिका र गणनास्थलमा पनि राजनीतिक दलहरुको रोहवरमा नै खोलेका कारण कुनै शंका नगर्न भनेका छन्। 

महालक्ष्मी नगरपालिकाका निर्वाचन अधिकृत राम घिमिरेले निर्वाचन आयोगको गाउँपालिका तथा नगरपालिका निर्वाचन निर्देशिकाले स्पष्ट उल्लेख गरेको अवस्थामा मुख्य निर्वाचन अधिकृतले घोषणा गरेको मतपरिणाम नै अन्तिम हुने बताए।

निर्देशिकामा पहिलो मतपेटिकाको सिलबन्दी गर्दा वडा मुचुल्कासहित बन्द गर्नुपर्ने, दोस्रो मत गणनास्थलमा मत गणना गर्दा फेरि मुचुल्का गरेरमात्र खोल्ने र तेस्रो मतपेटिका खोल्दा कुनै कैफियत देखिए पुन: मुचुल्का गर्ने र गणना सुचारु गर्ने प्रावधान रहेका कारण राजनीतिक दलहरुले यस्तो अवस्थामा कुनै विवाद गर्नुको कुनै औचित्य नरहेको उनले बताए।

यता माओवादी केन्द्रले भने मत हराएको भन्दै त्यसको छिनोफानो गर्नुपर्ने माग गरेको छ। विवादका कारण  ६ नम्वर वडामा पुन: मतगणना भएको छैन भने माओवादी केन्द्रले नतिजा स्वीकारेको छैन। तर घिमिरेले भने पुन: मतगणना नहुने र घोषणा भएको नतिजा राजनीतिक दलले स्विकार्नु पर्ने बताए।

हालसम्म महालक्ष्मी नगरपालिकाका ८ वटा वडाको नतिजा आइसकेको छ भने अब दुईवटा वडामा मत गणना गर्न बाँकी रहेको छ। निर्वाचन कार्यालयको पछिल्लो अपडेट अनुसार त्यहाँ नेकपा एमालेका मेयरका प्रत्यासी रामेश्वर श्रेष्ठ अगाडि रहेका छन्। उनले ८ नम्बरको गणना सकिँदासम्म सात हजार पाँचसय ७२ मत ल्याएका छन् भने प्रतिष्पर्धी नेपाली कंग्रेसका महेश खड्काले ६ हजार चारसय ६७ मत प्राप्त गरेका छन्।

त्यस्तै, उपमेयरमा पनि एमाले अगाडि रहेको छ। एमालेका उपमेयरका प्रत्यासी निर्मला थापाले ८ हजार ५१ मत ल्याएकी छिन् भने कांग्रेसका प्रत्यसी लक्ष्मी श्रेष्ठले पाँचहजार ९ सय ३३ मत प्राप्त गरेकी छिन्।

निर्वाचन अधिकृत घिमिरेले महालक्ष्मीको मत गणना आज बेलुकीदेखि भोलि विहानसम्म सकिने र भोलि नै विजेता उमेद्वारको घोषणा हुने जानकारी दिए।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell