PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

ललितपुर महानगरको उपप्रमुखमा साझाले दियो कडा टक्कर, साझाकी शोभा भन्छिन् ‘पासा पल्टिनेमा ढुक्क छु’



उमेश पौडेल

ललितपुर महानगरको उपप्रमुखमा साझाले दियो कडा टक्कर, साझाकी शोभा भन्छिन् ‘पासा पल्टिनेमा ढुक्क छु’

ललितपुरः काठमाडौं महानगरमा स्थापित ठूला पार्टीलाई टक्कर दिएको साझा पार्टीले अहिले ललितपुर महानगरको उपप्रमुखमा सवैको ध्यानाकर्षण गराएको छ। नेवार समुदायको बाक्लो उपस्थिति रहेको ललितपुर महानगरपालिकामा सवै राजनीतिक पार्टीका उम्मेद्वारहरु प्रायः नेवार समुदायका नै छन्।

प्रमुख पदमा नेपाली कंग्रेस र नेकपा एमालेबीच तीब्र प्रतिस्पर्धा भइरहेको अवस्थामा उपप्रमुखमा भने कांग्रेस र साझा पार्टीकाबीच प्रतिस्पर्धा भइरहेको छ। कांग्रेसबाट उपप्रमुखमा गीता सत्याल र साझाबाट शोभा शाक्य चुनावी मैदानमा होमिएर नतिजाको ब्यग्र पर्खाइमा रहेका छन्। उनीहरुबीच खासै ठूलो मातान्तर छैन। 

निर्वाचनको करिव दुई महिना अगाडि गठन भएको साझा पार्टीले उनलाई ललितपुरको उपप्रमुखका रुपमा अगाडि सारेको थियो। २० वडाको मतगणना सकिनैलाग्दा उनी नेपाली कांग्रेसकी उपप्रमुखकी उम्मेद्वार गीता सत्यालभन्दा करिव तीनहजार मतको अन्तरमा हिंडिरहेकी छिन्।

ललितपुर महानगरपालिकाको निर्वाचनको मतदानपूर्व गरिएको अनुमानलाई गलत सावित गर्दै उनले राप्रपा र माओवादी केन्द्रका
उम्मेदवारलाई फराकिलो मतान्तरमा निरन्तर पछि पारिरहेकी छन्।

उनी भन्छिन‘एकहप्ता भन्दा कम समयमा हामीले सोचेको भन्दा धेरै गर्न सकेको र नतिजा पनि सोचेको भन्दा धेरै आएको छ।’ ललितपुरमा पर्याप्त पूर्वतयारी भएको भए साझाको जित सुनिश्चित रहन सक्ने अहिलेको मतपरिणामले देखाएको उनको बताइन्।

ललितपुर महानगरका २० वडासम्मको मत गणना हुँदा उपप्रमुखमा साझा पार्टीको समर्थन रहेकी उनलाई ११ हजार ६ सय दुई मत्र प्राप्त भएको छ। शाक्यकी निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकी गीता सत्यालले १४ हजार ९० भोट प्राप्त गरेकी छिन्। शाक्यले उनीभन्दा तल रहेका अन्य उपमेयरका प्रतिस्पर्धीलाई करिव ६ हजारको मतान्तरमा पछि पारेकी छिन्।

पहिलोपोष्टसँग कुरा गर्दै शाक्यले आफ्नो जित सुनिश्चित रहेको दावी गरिन्। उनले अब गणना हुने २१,२२,२८ र २९ नम्वर वडाले उपप्रमुखमा साझा पार्टीको‘पासा पल्टाउने’ दावी गर्दै भनिन् ‘हरिसिद्धि एरिया, खोकना र बुङ्मति एरियाको भोट काउन्ट बाँकी रहेको र मेरो जितको आधार त्यही वरिपरीको मतदाताले दिएको भोटमा निर्भर रहेको छ।’

अब गन्न बाँकी रहेको वडामा २१ नम्वर खोकना एरियामा पर्छ। जहाँ किसान मतदाताको बाक्लो उपस्थिति रहेको ठाउँ मानिन्छ। उनले किसानको जीवनस्तर उकास्ने प्रसस्त आधारहरु आफूसँग भएको योजना लिएर सो क्षेत्रमा जाँदा जनताले भरपुर सहयोग गर्ने प्रतिवद्धता देखाएको जानकारी दिइन्।

त्यस्तै, ललितपुरको बुङ्मति र हरिसिद्धि क्षेत्र साझाको पकड क्षेत्रका रुपमा रहेको भन्दै २९ वडाको मत गणना अन्त्य नहुन्जेल हार स्वीकार नगर्ने बताइन्। साझाप्रति आस्था राख्ने धेरै मतदाताहरु हरिसिद्धि क्षेत्रमा रहेको भन्दै उनले जनताले उपप्रमुखको पद आफूलाई दिनेमा कुनै सन्देह नरहेको दावी गरिन्।

यसअघि वडा नम्वर १६ मा साझाले १७ सयभन्दा धेरै मत प्राप्त गरेको थियो, जसका कारण उनले शनिवार बेलुकीसम्म सत्यालसँग मात्र पाँचसयको हाराहारीमा पछि परेकी थिइन्।  

त्यसो त ललितपुरको उपप्रमुखमा एमाले र राप्रपाबीचको चुनाबी तालमेललाई महानगरका मतदाताले अस्वीकार गरिरहेको सन्दर्भमा त्यसको प्रत्यक्ष फाइदा नेपाली कांग्रेस र साझालाई स्पस्ट देखिएको छ।

दुई महिनाअघि बीबीसी नेपाली सेवा छाडेर रवीन्द्र मिश्रले प्रस्तावित साझा पार्टी बनाएका थिए।

संगठित तयारीबिना पार्टीले स्थानीय तह निर्वाचनमा काठमाडौं र ललितपुरमा उम्मेदवार खडा गरेको थियो।

कम समयकाबीच गरिएको तयारीले प्रमुखमा नभएपनि उपप्रमुखमा भने राम्रो परिणाम दिनेमा शाक्य ढुक्क छिन्। उनले भनिन् ‘ललितपुरका मतदाताहरु शिक्षित छन्, नयाँ स्वाद चाख्नका लागि मतदाताहरुले दिएको विश्वास र प्रतिवद्धतालाई हामी सदैव उच्च मुल्याङ्कन गर्नेछौं।’

चुनाव प्रचारका लागि स्थानीयले बोलाएका १५ प्रतिशत ठाउँमा पनि घुग्न नसकेका कारण केही मतदाताहरुले भोट हाल्ने इच्छा हुँदाहुँदैपनि उम्मेद्वार देख्न नपाएका कारण भोट कम आउनसक्ने उनको तर्क थियो।

उमेरले परिपक्क भएकी शोभा पेशाले व्यापारी हुन्। उनको ललितपुरको औद्योगिक क्षेत्रमा ह्यान्डिक्राफ्ट र कार्पेटको फ्याक्ट्री छ।  

उनी नेपालको ह्यान्डिक्राफ्टलाई विदेशमा निर्यात गर्छिन्। महिला सशक्तिकरणको क्षेत्रमा निकै अगाडिदेखि काम गर्दै आएकी उनले जागरुक महिला सहकारी, ज्यापुहरुको संस्था ‘छैना मिसा पुच’ लगायतका अन्य विभिन्न संघ संस्थामा काम गर्दै आइरहेकी छिन्।

१४ वर्षादेखि सामाजिक संघसंस्थामा आवद्ध उनी मत परिणाममा त्यो प्रतिविम्बित भएको दावी गरिन्। निरन्तर रुपमा सामाजिक काममै व्यस्त रहेको बताउँदै उनले उपप्रमुखमा विजयी भए  नेतृत्व तहबाटै त्यसलाई पूरा गर्ने बताइन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell