काठमाडौं : चलचित्र पत्रकार संघको १८ औं वाषिर्कोत्सवका अवसरमा पहिलोपोस्ट संवाददाता स्वेच्छा राउत पुरस्कृत भएकी छिन्।
आफ्नो वार्षिकोत्सवको अवसरमा संघले आइतबार ‘चलचित्र पत्रकारिता सम्मान र पुरस्कार’ प्रदान गरेको हो। जसमा यो वर्षको चलचित्र पत्रकारिता सम्मानबाट डा. नवराज लम्साललाई सम्मानित गरियो।
यस्तै वर्षको चलचित्र पत्रकारिता पुरस्कारबाट सगरमाथा टेलिभिजनमा कार्यरत पत्रकार पारस पौडेल र अनलाइनखबर डट कममा कार्यरत चलचित्र पत्रकार विजय सुवेदी ‘आवाज’लाई पुरस्कृत गरियो।
पौडेल र सुवेदीलाई सम्मान पत्र, ट्रफी र नगद २१ हजार सहित पुरस्कृत गरिएको हो ।
संघले यसै वर्षबाट प्रदान गर्न सुरु गरेको ‘चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार’ बाट पहिलोपोस्टकी स्वेच्छा राउत सम्मानित भएकी हुन्।
राउतलाई सम्मान पत्र, ट्रफी र ल्यापटपसहित सम्मान गरिएको हो।
काठमाडौंमा संघले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिद्वय नेपाल पत्रकार महासंघका अध्यक्ष डाक्टर महेन्द्र विष्ट र वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले सम्मानित र पुरस्कृत हुने पत्रकारहरुलाई सम्मान पत्र, ट्रफी प्रदान गरेका थिए।
चलचित्र पत्रकार संघले हरेक वर्षको जेठ ७ गते स्थापना दिवसको अवसर पारेर कार्यक्रम गर्दै आइरहेको छ।