पोखरा : पोखराको लेखनाथ महानगरपालिकाको दलहरुको अन्योलताका बीच नै निर्वाचन आयोगले मतगणना सुरु गर्ने निर्णय गरेको छ। तर नेपाली कांग्रेस, माओवादी केन्द्र लगायत दलहरु भने मतगणनामा सरिक हुन मानिरहेका छैनन्।
मतगणनाका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले सूचना जारी गरेको हो। निर्वाचन आयोगले लेखनाथ महानगरको रोकिएको मतगणना सुचारु गर्न निर्देशन दिएपछि निर्वाचन अधिकृतको कार्यलय पोखराले सर्बदलिय बैठक बोलाएको थियो।
सो बैठकमा नेपाली कांग्रेस लगायतका अन्य पार्टीहरुले असहमती जनाउँदै मतगणनामा भाग नलिने अडान लिएपछि दलका प्रतिनिधि बिना नै मतगणना सुरु गर्ने मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले बताए।
कानुनमा दलका प्रतिनिधि बिना पनि मतगणना गर्न सकिने व्यवस्था भएको उनले बताए। ‘अब मतगणना तत्कालै सुरु हुन्छ, मतगणना रोक्न पनि हुँदैन’ मुख्य निर्वाचन अधिकृतले कर्णले भने।
मतगणना फर्जीमत हालेको आरोप लगाएका कांग्रेस लगायतका दलहरुले मतगणना परिसर भित्रै पत्रकार सम्मेलन गर्ने तयारी गर्दैछन्। कांग्रेस, राप्रपा र संघिय समाजवादी पार्टी तथा नयाँ शक्ति पार्टीका प्रतिनिधि गणनास्थलमा छिरेका छैनन्।