
युभेन्ट्सले लगातार छैटौँ पटक इटालियन सिरी ए को उपाधि जितेको छ।
आइतबार भएको खेलमा क्रोनेटेलाई ३-० ले पराजित गर्दै युभेन्ट्स एक खेल अगावै यस सिजन च्याम्पियन बनेको हो। युभेन्ट्सको जितमा मारियो मान्ड्सकिच, पाउलो डिबला र एलेक्स सान्ड्रेले गोल गरे।
जितपछि 'ओल्ड लेडी'ले ३७ खेलबाट ८८ अंक जोडेको छ भने समान खेलबाट दोस्रो स्थानको रोमाको ८४ अंक भएको छ।
युभेन्ट्सको खेल हुनुअघि रोमाले चिएभो भेरोनालाई ५-३ ले हराउँदै युभेन्ट्ससँग अंक दुरी १ मा झारेको थियो। तर युभेन्ट्सले जित हात पारेसँगै रोमाको उपाधि जित्ने सम्भावना समाप्त भयो।
एक गोलले पछि परेको अवस्थालामा रोमालाई जिताउन स्टेफन अल सारावे र मोहमद सलाहले २-२ तथा एडेन जेकवले १ गोल गरे। भेरोनाका लागि रोआर्ट इनलेसले २ तथा लुकास कास्ट्रोले १ गोल गरे।
यस्तै एसी मिलानले बोलोग्नालाई ३-० ले पराजित गर्दै अर्कव सिजन युरोपा लिगको लागि क्वालिफिकेशन खेल्ने सम्भावना कायम राखेको छ। ३७ खेलबाट ६३ अंक जोडेको मिलान छैटौँ स्थानमा छ।