
काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहालले हत्यामा प्रत्यक्ष संलग्नको मुद्दा फिर्ता नहुने बताएका छन्।
जनकपुरबाट प्रकाशित जनकपुर टुडेको १८ औं वार्षिकोत्सव कार्यक्रममा प्रधानमन्त्रीले मुद्दा फिर्ताको आफ्नो प्रक्रिया र मान्यता भएको बताए ।
उनले हत्यामा संलग्न नभएकाहरुको झुठा मुद्दा भने सरकारले फिर्ता लिने बताए ।
सरकारले चाहनेबित्तिकै अदालतमा विचाराधीन फिर्ता नहुने स्पष्ट पार्दै प्रधानमन्त्रीले भने, ‘म आफैं प्रधानमन्त्री छु । तर, मेरो टाउकोमा अहिले पनि १५ वटा मुद्दा छन् । तर, मुद्दा फिर्ताको आफ्नो प्रक्रिया छ, मान्यता छ, हामीले चाहेर मात्रै हुँदैन ।’
अर्को प्रसंगमा प्रधानमन्त्रीले मधेसका मुद्दा ब्यालेटबाटै संस्थागत गर्न मधेस केन्द्रीत दल र मधेसी जनतालाई आग्रह गरे ।
देशलाई निकास दिने र मधेस र मधेसी जनताका मुद्दा सम्बोधन गर्न गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता जस्ता उपलब्धिहरु संस्थागत गर्नुको बिकल्प नभएको बताए।
प्रधानमन्त्रीले भने, ‘यो सरकार मधेसका मुद्दाप्रति धेरै संवेदनशील छ, म आफै तीस दलीय गठबन्धनको नेतृत्व गरेको नेता हुँ, मधेसबाटै निर्वाचित जनप्रतिनिधि हुँ, मधेसमा माग सम्बोधन गर्न संविधान संशोधनको प्रक्रिया अगाडि बढेको छ, पारित हुने स्थिति देख्नेबित्तिकै यसलाई मतदानमा लगिनेछ।’