
मिचेल जोनसनले अन्तिम ओभरमा २ विकेट झारेपछि मुम्बई इन्डियन्सले राइजिङ पुने सुपरजायन्ट्सलाई १ रनले पराजित गर्दै आइपीएल-१० को उपाधि जितेको छ।
यससँगै मुम्बई ३ पटक च्याम्पियन बन्दै आइपीएलको सर्वाधिक सफल टोली बनेको छ।
यसका लागि मुम्बईले १२९ रनको सामान्य लक्ष्य डिफेण्ड गर्यो। फाइनलमा १ रनको रोमाञ्चक जितसँगै मुम्बईले लिग र प्लेअफमा गरी पुनेसँग बेहोरेको ३ हारको बदलासमेत एकैपटक लिएको छ।
लिग चरणमा पुनेले मुम्बईलाई दुई पटक हराएको थियो भने प्लेअफको पहिलो क्वालिफायर्समा पनि पुने मुम्बईलाई पराजित गर्दै पिहलो पटक फाइनल पुगेको थियो।
पुनेलाई जितका लागि अन्तिम ओभरमा ११ रन अवश्य थियो र ७ विकेट बाँकी थियो। क्रिजमा थिए कप्तान स्टिभ स्मिथ र मनोज तिवारी।
मुम्बईका कप्तान रोहित शर्माले मिचेल जोनसनलाई अन्तिम ओभर बलिङ गर्न बल थमाए। जोनसनको पहिलो बलमा तिवारीले चौका प्रहार गर्दै पुनेलाई जितको आशा दिलाए। तर त्यसपछि लगातार दुई बलमा तिवारी र स्मिथलाई जोनसनले आउट गरेपछि खेल मुम्बईको पकडमा गयो।
चौथो बलमा वासिटन सुन्दरले १ तथा पाँचौमा ड्यान क्रिस्टियनले २ रन लिएपछि पुनेलाई अन्तिम बलमा ४ रन आवश्यक थियो। तर अन्तिम बलमा २ रन मात्र लिन सफल भएपछि मुम्बईले १ रनको जित हात पार्यो।
हैदरावदस्थित राजिव गान्धी इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२९ रन बनाएको थियो। मुम्बईका लागि क्रुनल पाण्ड्याले सर्वाधिक ४७ रन बनाए। कप्तान रोहित शर्माले २४ रन जोडे।
बलिङमा पुनेका जयदेव उनादकाट, एडम जाम्पा र ड्यान क्रिस्टियनले समान २-२ विकेट लिए।
जवाफमा १३० रनको सामान्य लक्ष्य पछ्याएको पुनेले पूरै २० ओभर खेल्दै ६ विकेट गुमाएर १२८ रन मात्र बनाउन सक्यो। पुनेका लागि कप्तान स्टिभ सम्थले अर्धशतक पूरा गरेपनि जितका लागि पर्याप्त भएन। स्मिथले ५० बल खेल्दै २ चौका र २ छक्काको मद्दतमा ५१ रन बनाए। ओपनर अजिन्का रहानेले ४४ रन बनाए।
मुम्बईलाई तेस्रो पटक आइपीएल उपाधि जिताउने क्रममा मिचेल जोनसनले सर्विधक ३ तथा जसप्रित बुमराहले २ विकेट लिए।
यसअघि सन् २०१३ र २०१५ मा मुम्बईले चेन्नाई सुपर किंग्सला२ हराउँदै उपाधि जितेको थियो।