
अङ्काराः टर्कीका राष्ट्रपति अमिन एर्दोगानले देशमा शान्ति स्थापना नहुँदासम्म सङ्कटकाल नहटाइने बताएका छन् ।
सत्ताधारी दल ‘जस्टिस एन्ड डेभलमेन्ट’ (एके) पार्टीको सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति एर्दोगानले फ्रान्समा पनि दुई वर्ष लामो सङ्कटकाल रहेको बताउँदै टर्कीमा अझै सङ्कटकाल हटाउन सकिने अवस्था नरहेको बताए ।
एकेको यसै सम्मेलनमार्फत पार्टीको अध्यक्षको जिम्मेवारी सम्हाल्न लागेका एर्दोगानले फ्रान्समा आतङ्ककारीको आक्रमणमा परी १५ जनाको मृत्यु भएसँगै सङ्कटकाल घोषणा भएको दुष्टान्त दिँदै कहाली लाग्दो घटनापछि सङ्कटकाल घोषणा गरी मुलुकमा शान्ति स्थापनाको प्रयास गरिएको बताए।
टर्कीमा सन् २०१६ को जुलाई १५ मा भएको असफल राज्य विद्रोहपछि जुलाई २० देखि सङ्कटकाल घोषणा गरिएको थियो । यसवर्ष अप्रिल १८ मा टर्कीको संसदले सङ्कटकाल लम्ब्याउने सरकारी प्रस्तावलाई अनुमोदन गरेको थियो । रासस