
पोखराः फर्जीमतको आशंकामा शनिबार साँझदेखि रोकिएको पोखरा लेखनाथ महानगरपालिकाको मतगणना दिउसो एक बजेदेखि हुने भएको छ ।
निर्वाचन आयोग र राजनीतिक दलहरुबीच भएको छलफलले विवादित १७ नम्बर वडा बाहेकका वडामा मतगणना थाल्ने सहमति गरेको हो ।
मतगणनाका क्रममा पोखरा १७ नम्बर वडाका केही मतपत्रमा स्वस्तिक छापको आकार ठूलो भएको भेटिएपछि विवाद बढेको थियो ।
आज बसेको सर्वदलीय बैठकमा पनि वडानम्वर १७ का वारेमा सहमति नजुटेपनि अन्य वडाको भने मतगणना गर्ने सहमति भएको छ । वडानम्वर १७ को भने मुचुल्का खोजेर पछि सहमति खोज्ने दलहरुबीच सहमति भएको हो ।
क्षेत्रीय निर्वाचन कार्यालय पोखराका प्रमुख गंगालाल सुवेदीले सहमतिपछि मतगणनाको तयारी भैरहेको बताए ।