PahiloPost

Jun 10, 2025 | २८ जेठ २०८२

माओवादी हेडक्वार्टर बैठकको निष्कर्षः चुनावको नतिजा अपेक्षाकृत 



पहिलोपोस्ट

माओवादी हेडक्वार्टर बैठकको निष्कर्षः चुनावको नतिजा अपेक्षाकृत 

काठमाडौंः नेकपा माओवादी केन्द्रले पहिलो चरणको स्थानीय तह निर्वाचनमा पार्टीले प्राप्त गरेको नतिजा अपेक्षाकृत नै भएको निष्कर्ष निकालेको छ ।

सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको हेडक्वार्टर बैठकले निर्वाचनको नतिजा अपेक्षाकृत भएको निष्कर्ष निकालेको हो । पार्टी एकता भएपनि संगठन व्यवस्थित बन्न नसकेको र अस्तव्यस्तताकाबीच निर्वाचनमा होमिएपनि जनमत अपेक्षाकृत नै भएको बैठकले निष्कर्ष निकालेको हो।

बैठकमा पहिलो चरणको निर्वाचन सम्पन्न भएका २८३ स्थानीय तहमध्ये ४६ स्थानमा विजय हासिल गरिएको र ५० भन्दा बढी तहमा पाँच सय  भन्दा कम मतान्तरले पराजित भएको समीक्षा गर्दै ती ठाउँमा आगामी प्रदेश र संघको निर्वाचनमा पार्टीले विजय हासिल गर्ने आधार भएको निष्कर्ष निकालिएको छ ।

बैठकले संख्याका दृष्टिले दलहरुले प्राप्त गरेको सिट संख्या फरक देखिए पनि जनमतका दृष्टिले माओवादी कमजोर नभएको निष्कर्ष निकालेको छ।

बैठकमा पार्टी अध्यक्ष प्रचण्डले सिंहदरबारमा केन्द्रीत अधिकारलाई जनताको घरआँगनमा लैजानु र स्थानीय तहलाई बलियो बनाउन निर्वाचन सम्पन्न गर्नु नै माओवादीको जीत भएको बताए।

बैठकले पहिलो चरणको निर्वाचनमा देखिएका कमीकमजोरीको समीक्षा गर्दै दोस्रो चरणको निर्वाचनमा थप विजय हासिल गर्न आवश्यक रणनीति तय गर्ने निर्णय पनि गरेको छ ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell