
काठमाडौं : युवा पुस्ताका गायक विधान श्रेष्ठले अंग्रेजी महिनाको अन्तिम शुक्रवार(मे महिनामा) हुने साङ्गीतिक कार्यक्रम 'पलेंटी'मा गाउने भएका छन्।
लामो अन्तरालपछि गत महिनाबाट पुन: सुरु भएको पलेँटीमा कवि तथा गीतकार दिनेश अधिकारीका गीत र कविता प्रस्तुत गरिएको थियो।
यसपटक गाउन लागेका विधान श्रेष्ठ नेपाली युवा गायनमा फरक शैलीका कलाकारका रुपमा परिचित छन्। बेग्लै किसिमको स्वर र त्यसलाई सुहाउँदो गीत छनौट गर्नसक्ने खुबी नै उनको विशेषता हो।
वि.सं. २०३१ सालमा सुनसरीमा जन्मिएका विधानको पारिवारिक परिवेश नै सांगीतिक थियो। पिता गीतकार तथा संगीतकार विजय श्रेष्ठको माया र प्रेमबाट संगीतमा पाइला चालेका विधान नेपाली संगीतका मूर्धन्य संगीतकार अम्बर गुरुङका शिष्य पनि हुन्।
अगुरुवाहरुले प्रुस्तुत गर्ने पलेँटीको मञ्चमा प्रस्तुत हुन पाउनु आफ्नो लागि अद्भूत खुसीको कुरा भएको गायक श्रेष्ठले बताए। ‘फेरि अर्को संजोग र गर्वको कुरा, यो पलेँटी नै मेरो जीवनको पहिलो एकल गायनको कार्यक्रम हुने भो, यसकारणले पनि झन् खुसी र उत्साही छु।’ वाद्यवादकहरुसित अभ्यास गरिरहेका विधानले खुसी व्यक्त गरे।
’विधानको गायन र गीतका विषयबस्तु आम चलनचल्ती भन्दा भिन्दै भएकाले मलाई मन पर्छ,’ पलेँटी शृंखलालाई संयोजन गर्दै आएका संगीतकार, कवि तथा गायक आभास भन्छन्, ’विधानमार्फत् हामीले पलेँटीलाई नयाँ पुस्तातर्फ पनि उन्मुख गराउन खोजेका हौं। त्यसैले यो महिनाको पलेँटी विशेष महत्वको छ ।’
यिनै गीत र आफ्नो सांगीतिक अनुभव बोकेर आउदो शुक्रबार साँझ (मे २६ तारिख) नेपालयको आरशालामा विधानले आफूलाई प्रस्तुत गर्नेछन् ।
नेपालयले विगतलामो समयदेखि संचालन गर्दै आएको पलेँटीमा हालसम्म तीनदर्जन भन्दा धेरै कलाकारहरूले आफूलाई प्रस्तुत गरिसकेका छन्।