- राजेन्द्र आचार्य-
आरक्ष र निकुञ्ज तथा जिल्ला वन कार्यालयले विभिन्न समयमा संकलन गरेको आखेटोपहार सोमबार कार्यक्रम गरी नष्ट गरिएको हो ।
परराष्ट्रमन्त्री प्रकाशशरण महतले दागवत्ती दिएर अखेटोपहार जलाएका थिए ।
चितवन राष्ट्रिय निकुञ्जको कसरा परिसरमा नेपाली सेनाको श्रीजंग गणको चौरमा मन्त्री महतसहित सरोकारवालाहरुको उपस्थितिमा आखेटोपहार जलाइएको थियो । चौरकोबीचमा १५ मिटर लम्बाई र ५ मिटर चौडा भएको खाल्डो बनाई अखेटोपहार जलाइएको थियो ।
सो अवसरमा मन्त्री महतले वन्यजन्तु पनि प्राकृतिक रुपमा बाँच्न र मर्न पाउनुपर्ने आधिकारको सुनिश्चितता गर्न आखेटोपहार नष्ट गरेको बताए ।
यसअघि २०५४ सालमा अखेटोपहार जलाइएको थियो । यसपटक ४८ प्रजातिका ४ हजार १२ वटा विभिन्न आखेटोपहार नष्ट गरिएको छ ।
यसपटक ७२ वटा बाघको छाला मध्ये ६५ वटा, तीन सय ६७ वटा गैंडाको खाग मध्ये तीन सय ५७ वटा, ४९ वटा रेडपाण्डा मध्ये ४७ वटा जलाइएको छ ।
बाँकी आखेटोपहार भने सुरक्षित राखिने भएको छ । संरक्षरण गरेर राखिएको एक हजार एक सय किलो हात्तीको दाह्रा भने नजलाइने भएको छ ।
हात्तीको दाह्रा जलाउनका लागि अत्याधिक ताप चाहिने भएकोले त्यसका लागि पछि व्यवस्थापन गरिने बताइएको छ । बाँकी राखिएको आखेटोपहारलाई अनुसन्धानका लागि संग्रहालयमा राखिने भएको छ ।