PahiloPost

Jun 10, 2025 | २८ जेठ २०८२

केएनपी जापान राष्ट्रिय महिला भलिबल जेठ तेस्रो साता



पहिलोपोस्ट

केएनपी जापान राष्ट्रिय महिला भलिबल जेठ तेस्रो साता

काठमाडौं : केएनपी जापान राष्ट्रिय महिला भलिबल प्रतियोगिता जेठको तेस्रो सातादेखि सुरु हुने भएको छ। शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा हुने प्रतियोगिताको तेस्रो संस्करण जेठ २३ गतेदेखि २६ गतेसम्म सञ्चालन हुनेछ।

लिगकम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा साविक विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लब, उपविजेता न्यु डायमन्ड एकेडेमी, नेपाल पुलिस क्लब, पश्चिमाञ्चल भलिबल संघ, त्रिभुवन आर्मी क्लब र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको सहभागिता रहने छ।

नेपाल भलिबल संघका उपाध्यक्ष समेत रहेका खड्काले अघिल्लो संस्करणको तुलनामा यस संस्करणमा नगद पुरस्कारको राशि दोब्बर बनाएको बताए।

प्रतियोगिताका विजेताले नगद एक लाख ५० हजार, उपबिजेताले ७५ हजार र तेस्रो हुनेले ५० हजार रुपैयाँ प्राप्त गर्ने छन्।

नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमन शर्माले महिला भलिबलको विकासका लागि प्रतिष्ठानले थालेको अभियान सराहनीय रहेको बताए।

राष्ट्रिय खेलकुद परिषद्को बिशेष सहयोग तथा नेपाल भलिबल संघको प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगितालाई बहुराष्ट्रिय रंग कम्पनी केएनपी जापान प्रालिको मुख्य प्रायोजन गरेको छ।

प्रतियोगितामा सर्वोकृष्ट खेलाडीले नगद १५ हजार रुपैयाँका साथै एयर एसियाको काठमाडौं-मलेसिया-काठमाडौंको आतेजाते हवाई टिकट प्राप्त गर्ने छन्।

त्यस्तै बेस्ट स्पाइकर, क्वीकर, सेटर, बेस्ट ब्लकर, बेस्ट डिफेन्स, बेस्ट सर्भर र बेस्ट कोचले जनही ३ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने छन्।

केएनपी जापान राइजिङ प्लेयरबाट तीन हजार रुपैयाँसहित एक प्रतिभावान खेलाडी पुरस्कृत हुने छन्।

तेस्रो संस्करणमा शेरवहादुर खड्का स्पेशल अवार्डबाट एक खेलाडीलाई नगद १० हजार ट्रफीसहित सम्मान गर्ने अध्यक्ष खड्काले जानकारी दिए।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा सञ्चालन हुने प्रतियोगिताको अनुमानित बजेट १२ लाख रुपैयाँ रहेको अध्यक्ष खड्काले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell