PahiloPost

Jun 10, 2025 | २८ जेठ २०८२

प्राइम मिनिस्टर कप वान डे क्रिकेट भोलिबाट, खेलाडीहरु उत्साहित



पहिलोपोस्ट

प्राइम मिनिस्टर कप वान डे क्रिकेट भोलिबाट, खेलाडीहरु उत्साहित
फोटोहरु : क्रिकेटिङ नेपाल

काठमाडौं : फस्ट प्राइम मिनिस्टर कप वान डे राष्ट्रिय क्रिकेट प्रतियोगिता भोलिदेखि सुरु हुँदैछ। नेपाली क्रिकेटको सर्वोच्च निकाय क्यान निलम्वन रहेको अवस्थामा राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाली क्रिकेटको इतिहासमै सर्वाधिक धनराशी पुरस्कार रहेको ५० ओभरको क्रिकेट प्रतियोगिता गर्न लागेको हो।

नेपालको डेमेस्टिक लेभलमा करिब ३ वर्षपछि एकदिवसीय क्रिकेट प्रतियोगिता हुन लागेको हो।

सोमबार राजधानीमा आयोजित कार्यक्रममा आयोजकले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको बताउँदै गर्दा सहभागी टिमका कप्तानहरुले आफूहरु एकदमै उत्साहित भएको प्रतिक्रिया दिए।

सशस्त्र प्रहरी बल एपीएफका कप्तान ज्ञानेन्द्र मल्लले नेपाली क्रिकेटलाई अगाडि बढाउन ५० ओभरको खेलको अवश्यकता रहेको बताए। उनले अब नेपाली क्रिकेट पनि व्यावसायीकतातर्फ अगाडि बढिरहेको बताउँदै प्रतियोगिताले अब आउने नयाँ खेलाडी र क्षेत्रीय खेलाडीहरुलाई अवसर दिने बताए।

मध्यमाञ्चल टिमका कप्तान शरद भेषावकरले आफूहरु एकदमै उत्साहित भएको बताउँदै आफ्नो टिमलाई जिताउन लागिपर्ने बताए। यस्तै उनले नेपाली क्रिकेटको क्रेज कति छ भनेर यसले देखाउने बताए। 'खेलाडीको लागि यो अवसर र चुनौती दुवै हो।'

यस्तै, नेपाल पुलिसका कप्तान मन्जित श्रेष्ठ, त्रिभुवन आर्मीका कप्तान विनोद भण्डारी, मध्यपश्चिमाञ्चलका कप्तान सुवेन्दु पाण्डे र सुदूरपश्चिमाञ्चलका कप्तान सुरेन्द्र चन्दले पनि लामो समयपछि हुन लागेको एकदिवसीय प्रतियोगिताले सबै खेलाडीहरु र टिममा उत्साह छाएको प्रतिक्रिया दिए। यसले नयाँ युवा खेलाडीहरुलाई अवसर दिने उनीहरुको भनाइ थियो।

राखेपको आयोजना तथा केसीटिसीको व्यवस्थापनमा भोलिबाट सुरु हुने प्रतियोगिता जेठ २४ गतेसम्म सञ्चालन हुनेछ।

प्रतियोगिताको टेक्निकल हेडका रुपमा रहेका नेपाली सिनियर राष्ट्रिय टिमका प्रशिक्षक जगत टमाटाले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। उनले लामो समयपछि हुन लागेको ५० ओभरको प्रतियोगिताले सबै खेलाडीलाई मौका दिएको बताए। सबै खेलाडीको लागि मौका र चुनौती छ। साथै राम्रो गर्ने विश्वाससमेत लिएको छु। टमाटाले भने। उनले हङ्ङकङविरुद्ध हुने डब्लुसिएल खेलको तयारीको रुपमासमेत रहेको बताए।

प्रतियोगितामा पाँच विकास क्षेत्र र तीन विभागीय क्लबसहित कूल ८ टोलीको सहभागिता रहनेछ। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ए मा एपीएफ, मध्यमाञ्चल, मध्यपश्चिमाञ्चल र पश्चिमाञ्चल छन् भने समूह बी मा आर्मी, पुलिस, पूर्वाञ्चल र सुदूरपश्चिमाञ्चल रहेका छन्।

दुवै समूहको शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्नेछ।

प्रतियोगिताको विजेताले २० लाख नगद र ट्रफी पुरस्कार हात पार्नेछ। उपविजेताले १० लाख पाउनेछन्। यस्तै, सेमीफाइनलमा पराजित दुई टोलीले समान ५० हजार तथा प्रत्येक लिग खेलको विजेताले २५ हजार पाउनेछन्।

यसबाहेक म्यान अफ दी सिरिजले १ लाख, बेस्ट ब्याट्सम्यान र बेस्ट बलरले समान ५० हजार, इमर्जिङ प्लेअरले २५ हजार तथा प्रत्येक खेलको म्यान अफ दी म्याचले ५-५ हजार हात पार्नेछन्।

प्रतियोगिताको उद्घाटन खेल भोलि आर्मी र पूर्वाञ्चलबीच हुनेछ। सबै खेलहरु कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ।

खेल तालिका : 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell