PahiloPost

Jun 10, 2025 | २८ जेठ २०८२

ललितपुरका मेयर चिरिबाबुका योजनाः जामको विकल्प फ्लाइओभर, प्रिस्कूल निःशुल्क चलाउने



पहिलोपोस्ट

ललितपुरका मेयर चिरिबाबुका योजनाः जामको विकल्प फ्लाइओभर, प्रिस्कूल निःशुल्क चलाउने

ललितपुर : नौ दिन लामो मतगणनापछि बुधबार बिहान उपत्यकाले पहिलो मेयर पाएको छ। ललितपुर महानगरमा कांग्रेसका चिरिबाबु महर्जन मेयरमा निर्वाचित भएका छन्। निकटतम प्रतिस्पर्धी एमालेका हरिकृष्ण व्यञ्जनकारलाई झिनो मतले पराजित गर्दै महर्जन मेयरमा निर्वाचित भएका हुन्।
 

मेयरमा निर्वाचित महर्जनले मतदातालाई गरेका प्रतिबद्धता अनुसार महानगरको काममा क्रियाशील हुने बताएका छन्। 

 

महर्जनका योजना

नवनिर्वाचित मेयर महर्जनले महानगरबासीलाई स्वच्छ खानेपानीको प्रवन्ध गर्ने बताएका छन्। उनले मेलम्चीको पानी दशैँसम्मका काठमाडौंमा आउने भएकाले चक्रपथभित्रका बासिन्दालाई उक्त पानीको प्रवन्ध गर्ने योजना रहेको बताएका छन्। चक्रपथ बाहिरका नागरिकलाई डिप ट्युबवेलको व्यवस्थापन गरी पानीको समस्या हल गर्ने बताएका छन्। 

महर्जनका योजनामा वागमती नदी वरपर वृक्षरोपण गर्ने, सांस्कृतिक कार्यक्रम तथा पर्व मेलाका लागि बजेट व्यवस्थापन गर्ने पनि छ।

 

ट्राफिक जामको विकल्प फ्लाइओभर

घर भत्काएर बाटो विस्तार गरी ट्राफिक जामको समस्या समाधान गर्ने एजेण्डा महर्जनको छैन। उनको योजनामा फ्लाइओभर छ। सांस्कृतिक पहिचान बोकेको मच्छिन्द्रनाथको जात्राको रुट बाहेक अन्य स्थानमा फ्लाइओभर बनाउने उनको योजनामा छ।

पूल्चोक आकासे पूलदेखि थापाथलीसम्म गरी डेढ किलोमिटरको फ्लाइओभरको सम्भाव्यता अध्ययन चाँडै हुने महर्जनको भनाई छ। 

मेलम्चीको पानीले बाटो सफा गर्ने नवनिर्वाचित मेयरको योजना छ। मेलम्चीको पानी आएपछि कुपन्डोलदेखि हरिसिद्धि, ग्वार्को, बुङमती ज्वागल शान्तभवन पुल्चोकसम्म फोहरा लगाएर हप्तामा दुई पटक सडक सफा गर्ने उनको योजना छ।

भूकम्प पीडितलाई सरकारले दिएको राहत न्यून भएकाले पीडितलाई नगद सहायता थप गर्ने उनको योजना छ।

 

निःशुल्क शिक्षा

महङ्गो शिक्षालाई नियन्त्रण गर्न प्रिस्कूललाई परीक्षणका रुपमा महानगरले निःशुल्क सञ्चालन गर्ने योजना नवनिर्वाचित मेयर महर्जनको छ। स्थानीय तहले १२ कक्षासम्म विद्यालय सञ्चालन गर्न पाउने अधिकार भएकाले त्यसको सम्भाव्यता अध्ययन गरी कार्यान्वयनमा लैजाने उनको योजना छ।

अव्यवस्थित टेलिफोन, इन्टरनेट र बिजुली तार हटाइ अन्डरग्राउन्ड बनाउने, पर्यटकीय क्षेत्रमा शौचालय निर्माण पनि उनका योजनामा छन्।

नवनिर्वाचित मेयर महर्जनले विपक्षी दलबाट निर्वाचित वडाध्यक्षसहितको टीमलाई पनि योजनामा सहयोग गर्न आग्रह गरेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell