PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

राप्रपाका राजारामलाई एमालेले धोका दिएको हो?



मनोज सत्याल

राप्रपाका राजारामलाई एमालेले धोका दिएको हो?

काठमाडौं : काठमाडौं महानगरको मतगणना जारी रहँदा नेकपा एमालेका मेयर उम्मेद्‍वार विद्यासुन्दर शाक्यले 'लिड' गरिरहेका छन्। तर एमालेसँग गठबन्धन गरेको राप्रपाका उपप्रमुख उम्मेद्‍वार राजाराम श्रेष्ठ पछि परेका छन्। कांग्रेस उम्मेद्‍वार हरिप्रभा खड्गीसँग राजारामको मतको दूरी निकै बढ्दो छ।

एमाले कार्यकर्ता र मतदाताले विद्यासुन्दरलाई भोट दिए तर राजारामलाई त्यही अनुरुप भोट नदिएको मतपरिणामले देखाइसकेको छ। राजाराम कांग्रेस उम्मेद्‍वार हरिप्रभासँग १५ हजार मतले पछि परेका छन्। अब कमब्याकको आशा गर्नु 'फलामको च्युरा' चपाउनुमात्र हो।

राजाराम पनि अपेक्षित मत नपाएको निष्कर्षमा पुगिसकेका छन्।

'म बेइमानी वा धोकाको संज्ञा दिन चाहान्न तर चुनावी परिणाम अनपेक्षित नै रह्यो। जुन खालको मत हामीले तालमेलबाट पाउने अपेक्षा गरेका थियौँ त्यो अनुसारको मत हामीले नपाएको त सत्य हो,' राजारामले पहिलोपोस्टसित भने।

तर, उनले गठबन्धन निर्माणलाई मतबाट अस्वीकार गरेको भन्न चाहेनन्। उनले गठबन्धन निर्माण नयाँ राजनीतिक संस्कृति निर्माणको र सहकार्यको आवश्यकताको परिणाम भएको बताए।

एमाले नेता शंकर पोखरेलले भने निर्वाचन परिणामले माथिल्लो तहमा मात्र गरिने तालमेल मतदाताबाट अस्वीकृत भएको स्वीकारे।

'मुख्य पदमा मात्र गठबन्धन गर्दा परिणाम आउँदैन भन्ने शिक्षा दिएको छ। कांग्रेस र माओवादीको चितवन र पोखराको गठबन्धनमा त्यही देखियो। काठमाडौंमा राप्रपासँगको हाम्रो गठबन्धनमा पनि त्यही देखियो,' पोखरेलले भने।

उनले लमजुङ र बाग्लुङमा गरिएको गठबन्धनमा एमालेले जितेको तर म्याग्दीमा गठबन्धनका बाबजुद हारेको उल्लेख गरे।

'प्रतिबद्ध कार्यकर्ताको मत मात्र गठबन्धनमा प्राप्त हुन्छ। जुन राजनीतिक दललाई जनताले मन पराउँछन् उसलाइ दिन्छन्,' पोखरेलले भने, 'पार्टीहरुले गठबन्धन गर्नेबित्तिकै उम्मेद्‍वारलाई मन पराउनुपर्छ भन्ने नहुन पनि सक्छ।'

उनले गठबन्धनको सफलता वडा तहसम्मको गठबन्धनबाट मात्र सम्भव देखिएको बताए। 'के भयो भने वडा-वडामा पार्टीका अलग-अलग उम्मेद्‍वार भए। त्यसले गर्दा जनताको माझमा पनि गठबन्धनको प्रचार भएन। अनि दलको चिन्हमा भोट आयो,' पोखरेलले भने, 'प्रचारप्रसारमा जनताको बीचमा वडा जाने रहेछ। वडादेखिको प्रचारले मात्र मुख्य पदमा पनि गठबन्धन स्थापित हुने रहेछ।'

उमपेयरका उम्मेद्‍वार राजाराम श्रेष्ठ पनि प्रचारका लागि समय कम हुँदा मत कम आएको बताउँछन्।

'गठबन्धनले कसैलाई फाइदा, कसैलाई नोक्सान पुगेको ठीकै हो। तर, गठबन्धनमा भोट दिन नसक्‍नुमा दल र तिनका नेता र कार्यकताको नियतभन्दा बढी समयको अपर्याप्तताले भूमिका निर्वाह गरेको छ। उम्मेद्‍वारको चयन त्यतिबेला भयो जब सय मिनेट मात्र उम्मेद्‍वारी दर्ताका लागि बाँकी थियो', राजाराम भन्छन्, 'त्यसकारण दलीय तालमेलको सन्देश जनताको घरदैलोसम्म पुर्‍याउनै सकिएन।'

मतगणना समेत पटक-पटक आफैँ पुगेर हेरेका राजाराम बदर मतका कारण पनि आफू पछाडि परेको देख्छन्।

'दुई दलको मत हाल्दा बिग्रने डरले कतिपयले सिधा सिधा पनि मत हालेको देखिन्छ,' उनी मतगणनाको ट्रेन्डबारे भन्छन्। काठमाडौंको राष्ट्रिय सभागृहमा जारी मतगणनामा उम्मेद्‍वार नरहेको एमालेको उप प्रमुखको पदमा मत आएको छ। त्यस्तै मत राप्रपाको मेयर पद नरहेको गाईले पाएको छ।

एमालेको काठमाडौंको मतगणना हेरिरहका सांसद् रामवीर मानन्धर भन्छन् – 'मतगणनाले जनताले गठबन्धन अस्वीकार गरेको देखिएको छ।'

एमाले आफैँले उम्मेद्‍वार खडा गरेको भए पनि जित्ने पो थियो कि भन्नेसम्मको आँकलन मानन्धरको छ।

जे होस् काठमाडौंमा एमाले र राप्रपा गठबन्धनको घाटा राप्रापाका उम्मेद्‍वार राजाराम श्रेष्ठले बेहोरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell