
काठमाडौँ : चार महानगरमध्ये ललितपुर महानगरपालिकाको मतगणना सकिए पनि अन्य तीन महानगरको मतगणना जारी नै छ।
अहिलेसम्म तीन महानगरमा करिव ७० प्रतिशत मात्र मतगणना सकिएको छ। काठमाडौं महानगरमा दुई लाखभन्दा बढी मत खसेको छ। अहिलेसम्म १ लाख ३२ हजारभन्दा बढी मतगणना भइसकेको छ।
अहिलेसम्म नेकपा एमालेका मेयरका उम्मेद्वार विद्यासुन्दर शाक्य ४४ हजार ६ सय ९६ मतका साथ अग्रस्थानमा छन्। नेपाली कांग्रेसका उम्मेद्वार राजुराज जोशी ३१ हजार १ सय ३० मतले पछ्याइरहेका छन्। मेयरमा मतान्तर १३ हजारभन्दा बढी पुगेको छ।
काठमाडौँमा विवेकशील नेपालीकी रञ्जु दर्शना १६ हजार ३ सय २० मत र साझा पार्टीका किशोर थापाले १२ हजार ३ सय ३९ मत प्राप्त गरेका छन्। उपमेयरमा नेपाली कांग्रेसकी हरिप्रभा खड्गीले ४० हजार १ सय ५ मत ल्याएर अग्रस्थानमा छिन्। राप्रपाका राजाराम श्रेष्ठले २४ हजार १ सय ३ मत ल्याएका छन्।
भरतपुर महानगरमा अहिलेसम्म मेयरमा एमालेका उम्मेद्वार देवी ज्ञवाली २८ हजार ६९ मत प्राप्त गर्दा माओवादी केन्द्रकी रेणु दाहालले २५ हजार ४०३ मत प्राप्त गरेकी छिन्। उपमेयरमा कांग्रेसकी पार्वती शाह २८ हजार ७९१ र एमालेका दिव्य आचार्यले २५ हजार २९१ प्राप्त गरेका हुन्।
पोखरा महानगरमा नेकपा एमालेका मानवहादुर जिसी ३२ हजार ९४६ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्दी रामजी कुँवरले २७ हजार ७३ सय मत प्राप्त गरी पछ्याएका छन्। उपमेयरमा एमालेकी मञ्जु गुरुङ २६ हजार ६८५ मतका साथ अगाडि छन्। कांग्रेसकी सरस्वती गुरुङले २२ हजार ७ मत प्राप्त गरेकी छिन्।