
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद बैठक हुन नदिएका कारण सरकारले भोलि नीति तथा कार्यक्रम ल्याउने भएको छ। लगातार दुई दिनसम्म एमालेले अवरोध गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा गर्ने सम्बोधन पनि अवरुद्ध हुँदै आएको छ।
संविधानअनुसार जेठ १५ गते सार्वजनिक गर्नुपर्ने बजेटको विषयमा छलफलका लागि सभामुख ओनसरी घर्तीले प्रयास गरेको भए पनि दलहरुबीच संसद खुलाउने विषयमा सहमति जुट्न सकेन। 'सहमतिमा संसद चलाउने दुई दिनको प्रयास सफल नभए पनि भोलिको नीति तथा कार्यक्रम सफल बनाउन दलहरु एक हुनेछन् भन्ने विश्वास छ,' सभामुख ओनसरी घर्तीले ट्विट गर्दै भनेकी छिन्।
सहमतिमा संसद चलाउने दुई दिनकाे प्रयास सफल नभएपनि भाेलीकाे नीति तथा कार्यक्रम सफल बनाउन दलहरु एक हुनेछन् भन्ने विश्वास छ।
— Onasari Gharti (@SpeakerofNepal) May 24, 2017
एमालेको अवरोधका कारण सरकारको नीति तथा कार्यक्रममाथि छलफल नहुने करिब निश्चित भएको छ। सरकारका नीति तथा कार्यक्रममाथि लगाम लगाउने हैसियतमा रहने प्रमुख प्रतिपक्षी दलले नै संसद अवरुद्ध गरेपछि सभामुखले भोलि सोझै नीति तथा कार्यक्रमलाई अगाडि बढाउने भएकी हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम सार्वजनिक गर्नेछिन्। त्यसका लागि सभामुखले प्रकृया अगाडि बढाएकी छिन्। भोलि ४ बजे सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी छ।
संसद अवरुद्ध भएका कारण बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफल पनि नहुने भएको छ। प्रमुख प्रतिपक्षी दल एमालेले स्थानीय तहको संख्या थप गरेको विषयलाई उठाउँदै संसद अवरुद्ध गर्दै आएको छ।