
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले राजीनामाको घोषणा गरेका छन्। देशबासीका नाममा सम्बोधन गर्दै उनले आजैदेखि राजीनामा गर्ने बताएका हुन्।
संसदमा सम्बोधन गर्दै राजीनामा दिने तयारी गरेका प्रधानमन्त्री विपक्षी दल एमालेको अवरोधका कारण संसद बैठक बस्न नसकेपछि सिंहदरबारबाट सम्बोधन गर्दै राजीनामा दिएका हुन्।
सम्बोधनको सुरु मै उनले भने, 'मैले हिजो नै सम्बोधन गर्न खोजेको थिएँ। तर संसद अवरुद्ध भयो। त्यसैले सिधै जनतासँग सम्बोधन गर्न लागेको हुँ।'
उनले आफू प्रधानमन्त्री हुँदा सबै कुरा प्रतिकूल भए पनि १० महिनाको अवधिमा सुधार गरेको जिकिर गर्दै भने, 'म प्रधानमन्त्री हुँदा सबै कुरा प्रतिकूल थिए। देश यति विभाजित थियो कि चुनाव हुनसक्छ भन्ने आत्मविश्वास समेत थिएन। छिमेकीहरुसँगको सम्बन्ध राम्रो थिएन। १० महिनाको छोटो समयमा मैले ती सबै परिस्थिति सुधार गरेको छु। पहिलो चरणको निर्वाचन सम्भव भएको छ। अब दोस्रो चरणको निर्वाचनका लागि आधार तयार भएको छ।'
उनले आफू प्रधानमन्त्री निर्वाचित हुनुअघि संसदमा विपक्षी नेता केपी ओलीले सोधेका प्रश्नहरु ठीक भए पनि नियत ठीक नभएको बताए। 'म प्रधानमन्त्री हुँदा विपक्षीले फास्ट ट्रयाक के हुन्छ? चीनसितको ओबिओआर के हुन्छ जस्ता प्रश्न सोधिएको थियो। ती प्रश्न बेठीक थिएनन्। तर प्रश्नकर्ताको नियत ठिक थिएन।'
ओलीको नामै नलिई उनले व्यङ्ग्य गरे, 'आफूमाथि अविश्वास भएपछि त्यस्ता नियतहरु जन्मने गर्छन्।'
'फास्ट ट्रयाक केही दिनमा म उद्घाटन गर्दैछु। सेनाले निर्माण गर्दैछ। हुलाकी राजमार्गले एकदमै गति लिएको छ। काठमाडौलाई मेघा सिटीको अवधारणमा लैजान अध्ययन थालिएको छ। र अन्य १३ ठाउँमा मेघा सिटिको अवधारण विकासको अध्ययन सुरु भएको छ,' उनले भने।