PahiloPost

Jan 11, 2025 | २७ पुष २०८१

प्रचण्डको राजीनामा : भद्र सहमतिको पालना



सूर्य खड्का

प्रचण्डको राजीनामा : भद्र सहमतिको पालना

काठमाडौँ : नागरिक तप्काबाट गालीको भारी वर्षा खाँदै गत वर्षको साउन १९ मा दोस्रो पटक सत्तारोहण गरेका माओवादी अध्यक्ष प्रचण्डले जेठ १० गते भने तालीको वर्षा पाउँदै सत्तात्याग गरे। 

देशलाई २०५४ पछि पहिलोपटक नयाँ संरचनाअनुसारको संघीय गणतन्त्र नेपालको चुनाव सम्पन्न गराएर क्रान्तिकारी बाम नायकको प्रजातान्त्रिक निष्ठालाई व्यवहारमा सिद्ध गरे। कसैले राजिनामा नमागेको बेला, अविश्वास प्रस्ताव पनि दर्ता नहुँदै, संसदमा बहुमत नगुमाउँदै, सरकारमा रहेका दल र प्रतिपक्षीले पनि राजिनामा नदिन भने पनि प्रधानमन्त्री पदबाट हाँसीहाँसी हटेका छन् पुष्पकमल दाहाल प्रचण्ड।
राजगद्धी छोड्दा २०६५ जेठ मसान्तमा तात्कालीन राजा ज्ञानेन्द्र हाँसीहाँसी नारायणहिटीबाट सपत्नी बाहिरिएका थिए। त्यसैगरी सिंहदरबारको कार्यकारी कुर्सीबाट हाँसेर बिदाइ लिएका छन् प्रचण्डले। सत्ताबाट हट्दा खुसी हुने विरलै नेताको हँसिलो मुहार प्रचण्डले देखाए।

आर्थिक बृद्धिदर उच्च हासिल गरेको, लोडसेडिङ अन्त्य गरेको, महँगी नियन्त्रण गरेको, राष्ट्रिय गौरवका आयोजनाको निर्माण तीब्र पारेको, फास्ट ट्रयाक निर्माण नेपाली सेनाले गर्ने तयारी गरेको, चीनसँग वान बेल्ट वान रोडमा सम्झौता गरेको र मधेशी मोर्चालाई सहमतिमा ल्याएर सफलतापूर्वक निर्वाचन सम्पन्न गरेको भन्दै जनताले बधाई दिइरहेका बेला सरकार छाडेर प्रचण्डले सबैलाई छक्कमात्रै पारेका छैनन् कि राजनीतिमा हुने भद्र सहमति पनि कार्यान्वयन हुन्छ भन्ने नयाँ नजिर स्थापित गरेका छन्। 

अघिल्लो वर्ष केपी ओलीसँगको भद्र सहमति अनुसार प्रधानमन्त्री हुन नपाएका दाहालले साउनको सत्ता साझेदारीको अलिखित तमसुकमा इमान जमान पनि देखाए। सुशील कोइराला सरकारका पालादेखि भद्र सहमति पालना हुँदैन भनी स्थापित सत्ता राजनीतिको मान्यतामा प्रचण्डले भने क्रमभंगता गरे। अब कांग्रेस सभापति शेरबहादुर देउवाको सत्तारेहणको विधिवत मार्ग पनि उनको राजीनामासँगै सुरु भएको छ।

सडकमा राजिनामा माग्दै नाराबाजी हुँदा, संसदमा बहुमत गुम्दा, अविश्वास प्रस्ताव दर्ता हुँदा पनि राजीनामा नदिने नेताहरुले बिगतमा गरेको कुर्सीमुखी प्रवृतिमा प्रचण्ड अपवाद बन्न सफल भए। मुलुकमा प्रधानमन्त्री प्रचण्डले नेपाली राजनीतिमा सहमतिका पालनामा इमान्दार बन्नुपर्छ भन्ने उदाहरण स्थापित गर्न राजीनामा दिएर नैतिक मूल्यको राजनीतिक जग बसाउन पनि खोजेका छन्। यस अर्थमा उनको यो सत्तात्याग नैतिक मूल्यको नजरमा पनि सम्मानजनक नै रहयो।

सत्तामा जाँदा पहिलो कार्यकालमा जस्तो गल्तीहरुको श्रृंखला नदोहोर्यााउने प्रचण्ड वाचा पनि लगभग पूरा भएको छ। शासकीय हिसाबमा उनी यसपटक अालोचनाको एम्बुसमा त सधैँ झैँ परे तर देश र जनताले चीरकालसम्म सत्तोस्राप गरिराख्नुपर्ने कुनै पनि कुकर्म भने गरेनन्। यो नै उनको दोस्रो सत्ताकालको मुख्य सुखद् पक्ष हो।

राजनीतिक रुपमा सडकमा रहेका असन्तुष्ट मधेशी दलहरुलाई संसदमा फर्काउन उनले सफलता नै पाए। पहिलो चरणमा उपेन्द्र यादवको दल संघीय समाजवादी स्थानीय तह चुनावमा भाग लिन सहमत हुनु उनको सरकारको राजनीतिक सफलता नै हो। यस्तै दोस्रो चरणको स्थानीय चुनावमा अरु मधेशी दलको सहभागिता पक्का गर्न उनले स्थानीय तहको सङ्ख्या थपेर संविधान संशोधन गराउन नसकेको क्षतिको सोधभर्ना गरेका छन्। राजपा लगायतका बाँकी सबै मधेशी दल ३१ जेठको चुनावमा सहभागी हुँदा संविधानको सर्वस्वीकार्यता वृद्धि र कार्यान्वयन एकसाथ पक्का हुनु उनको सरकारको ठूलो राजनीतिक सफलता हो।

प्रतिपक्षी नेकपा एमालेलाई विश्वासमा लिन नसक्नु र सधै विपक्षी प्रहारमा परिरहनु तथा विपक्षी पेलाई खेपिरहनु यो सरकारको कमजोर पक्ष त हो नै तर, त्यसमा उत्तिकै जिम्मेवारी विपक्षी दल एमालेको पनि रहेकाले प्रतिपक्ष रिझाउन नसकेको बात यो सरकारलाई मात्रै एकाँकी रुपमा लाग्ने छैन।

भूकम्प पीडितलाई खाना, छाना र नाना वा बासको जोहो गराउन यो सरकार बिफल भएकै हो। सरकार कानुनका कुरा र सिइओ परिवर्तनमा उल्झँदा भूकम्प पीडितका लागि यो सरकार जुन जोगी अए पनि कानै चिरेका भन्ने उखानकै अर्को रुप मात्रै सीमित भयो। जनताका लागि कलाकार दम्पत्ती धुर्मुस सुन्तलीले बसाएको नमुना गिरान्चौर बस्ती वा मुसहर बस्ती यो सरकारका पुनर्निमाणको असफलता सिद्ध गर्ने पर्याप्त नमुना हुन्।

२० वर्षपछिको स्थानीय निकाय चुनावको पहिलो खण्डको सफलता यो सरकारको दुर्लभ युगिन उपलव्धी हो भने दोस्रो चरणको चुनावी पक्कापक्की पनि सरकारकै सफल पाटो हो।

प्रचण्डले सत्तारोहण गरिरहँदा राजनीति तीन कित्तामा विभाजित थियो। मधेशी दल सडकमा अन्दोलनमा थिए। तर अहिले राजनीति सत्तापक्ष र विपक्षी दुई कित्तामा मात्रै विभाजित छ। यो राष्ट्रिय एकता कायम गर्न सरकारले गरेको लामो प्रयासको परिणाम नै मान्न सकिन्छ।

संविधान जारीदेखि कार्यान्वयनसम्म र गणतन्त्रकै पनि संस्थागत जग हाल्न सरकार सफल भएको छ। सरकारको सफलताको अर्को मापक सन्तुलित छिमेक सम्बन्ध हो। किन भने गत वर्ष नाकाबन्दीमा रिसाएको भारत अहिले रिझिँदै आएको छ भने उत्तरी छिमेकी चीनले वान वेल्ट वान रोडमा पाएको नेपाली साथले विश्वास पनि बढाएको छ। यसरी कूल मिलाएर फेल वा पासको हिसाब गर्दा सरकार फेल हुनबाट जोगियो। अङ्क भने जनताले फरकफरक दिन सक्छन् तर सरकार पास भयो भन्नु गलत हुनेछैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell