
मनिलाः दक्षिणी फिलिपिन्सको लानाओ डेला सुर प्रान्तमा पर्ने मिन्दानाओ क्षेत्र र मरावी नगरमा अतिवादी इस्लामिक सशस्त्र समूहले सरकारविरुद्ध भीषण युद्ध सुरु गरेका छन् ।
राष्ट्रपति रोड्रिगो डुटेर्टे, केही मन्त्री तथा उच्चपदस्थ अधिकारी रुसको औपचारिक भ्रमणमा गएको मौका पारी अतिवादी इस्लामिक सशस्त्र समूहले अकस्मात् आक्रमण गरी मरावी नगरमा कब्जा जमाएका छन् ।
आक्रमणका क्रममा उनीहरुले एउटा क्याथोलिक चर्च भवन, एउटा कलेज र केही आवासीय भवनमा आगो लगाई नष्ट पार्ने प्रयास गरेका छन् । उनीहरुले ठूलो सङ्ख्याका नगरवासीलाई आफ्नो कब्जामा लिइ बेपत्ता पारेकासमेत आशङ्का गरिएको छ ।
सशस्त्र समूहको गोली प्रहारबाट कम्तीमा दुर्इ सैनिक, एक जना प्रहरी अधिकारी मारिनुका साथै अन्य १२ जना सख्त घाइते भएका फिलिपिन्सका रक्षामन्त्री डेल्फिन लोरेन्जानाले बताएका छन् ।
आक्रमणको खबर थाहा पाउनासाथ रुस भ्रमण छोट्याई राष्ट्रपति डुटेर्टे तत्कालै स्वदेश फर्किएका छन् । उनले स्वदेश फर्किरहेको विमानबाटै मिन्दानाओ क्षेत्र र मरावी नगरमा सङ्कट कालको घोषणा गर्दै त्यहाँ तुरुन्तै सैनिक कानून लागु गरेको घोषणा गरेका छन् ।
साथै ब्यापक सङ्ख्यामा राष्ट्रिय सैनिक परिचालन गर्ने आदेश दिएका छन् । सँगको भीडन्तका क्रममा थुप्रै सशस्त्र लडाकूको ज्यान गइसकेको छ ।
राष्ट्रपति डुटेर्टेले हाल ६० दिनसम्म दक्षिणी मिन्दानाओको सबै क्षेत्र भरी सैनिक कानून लागु गरिएको र स्थिति पूर्णनियन्त्रणमा नआएमा वा आवश्यक परेमा संबिधान प्रदत्त राष्ट्रपतीय अधिकार प्रयोग गरी एक बर्षसम्म पनि सैनिक कानून लागु गर्न सकिने जनाएका छन् ।
सैनिक कानून लागु गरिएको मरावी नगर राजधानी मनिलाबाट दक्षिणतर्फ आठसय तीस किलोमिटर टाढा पर्छ । यो नगर मुसलमान बहूल क्षेत्र हो र यहाँको जनसङ्ख्या दुई लाखभन्दा बढी छ । आतङ्ककारी आक्रमण गर्ने क्रममा सशस्त्र समूहले बिद्युत आपूर्तिको लाइन काटिदिँदा हाल यो नगर अन्धकारमय छ ।
फिलिपिन्सलाई आवश्यक पर्ने आधुनिक हात हतियार रुससँग खरीद गर्ने बिषयमा राष्ट्रपति डुटेर्टेको रुस भ्रमणको क्रममा एक सम्झौतामा हस्ताक्षर हुन लागेको थियो । रासस/एपी