
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिएका छन्।*
देशबासीका नाममा सम्बोधन गरेर राजीनामा घोषणा गरे लगत्तै राष्ट्रपति कार्यालय पुगेर उनले राजीनामाको पत्र बुझाएका थिए। ५ बजेर ५ मिनेटमा राष्ट्रपति भवन शितल निवास पुगेका प्रचण्डले राष्ट्रपतिसँग एक घण्टा छलफल समेत गरेका थिए।
राष्ट्रपतिले संविधानको धारा २९८ को उपधारा १० बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्म वर्तमान मन्त्रिपरिषद्ले नै कार्य सञ्चालन गरिरहन भन्दै वर्तमान मन्त्रिपरिषद्ले आफ्नो कार्यकालमा सम्पादन गरेका कार्यप्रति प्रधानमन्त्री एवम् मन्त्रिपरिषद्का सदस्यहरुलाई धन्यवाद दिएकी छिन्।
प्रधानमन्त्रीले राजीनामा दिएका कारण अब नयाँ प्रधानमन्त्री चयनका लागि राष्ट्रपतिले आह्वान गर्नेछिन्। राष्ट्रपतिले सहमतीय सरकार बनाउन धारा २९८ को उपधारा २ अनुसार सुरुमा सात दिनको समय दिनेछिन्। लगत्तै बहुमतीयको प्रक्रिया सुरु हुनेछ। संसदमा कुनै अवरोध नभए र दलहरुबीच बहुमतीय प्रक्रिया लम्ब्याउन सहमति नभए बहुमतीय प्रक्रियाबाट सरकार छान्न कम्तिमा पनि १० दिन लाग्नेछ।
(*सच्याइएको : यसअघि प्रधानमन्त्रीको राजीनामा राष्ट्रपतिले स्वीकृत गरेको व्यहोराको शीर्षक र समाचार सच्याइएको छ। नेपालको संविधानमा प्रधानमन्त्रीले राष्ट्रपतिसमक्ष राजीनामा दिने मात्र उल्लेख छ। राजीनामा स्वीकृत गर्ने प्रावधान संविधानमा छैन - सम्पादक )