भक्तपुरः भक्तपुर र काठमाडौँको सिमानामा पर्ने मनोहरा पुलमा भक्तपुरका बासिन्दाको विहानैदेखि निकै तामझाम थियो। उपभोक्ताका नाममा ब्यानर बोकेका भक्तपुरका बासिन्दाले हातमा अबिर र फूलमाला लिएर बसेका थिए।
जब प्रहरी भ्यानको स्कटिङसहित छवटा साझा बस लाइनले भक्तपुरको नाकामा प्रवेश गरे, तब भक्तपुरका बासिन्दाले गडगडाहट ताली बजाए। कसैले साझा बसमा अबिर र फूल छरेर पूजा गरे भने कसैले चालकलाई टिका र माला लगाईदिएर स्वागत गरे।
भक्तपुरका बसहरूको वर्षौदेखिको एकाधिकार र सिन्डिकेट तोड्दै बुधबारदेखि भक्तपुरमा साझा बस सञ्चालनमा आएपछि भक्तपुरका बासिन्दाले हर्षित हुँदै भव्य स्वागत गरेका हुन्।
भक्तपुरका बासिन्दाको माग बढ्दै गएपछि साझा यातायातले भक्तपुरमा बस सञ्चालन गर्न गत चैतदेखि गरेको प्रयास यातायात व्यवस्था विभागबाट अनुमति पाएपछि बस सञ्चालनमा आएको हो।
भक्तपुरको सूर्यविनायकमा साझा बस पुग्दा त्यहाँका बासिन्दाले पनि अबिर, फूलमालाले साझा बसको स्वागत गरेका थिए।
भक्तपुरमा साझा बस सञ्चालनका लागि रुट परमिट नदिन यहाँका व्यवसायीले यातायात व्यबस्था विभागमा दबाब दिने र विरोध गर्दै आएपछि रुट पाएपछि साझाले बस सञ्चालन गरेको हो ।
साझा यातायातले काठमाडौको स्वयम्भूदेखि भक्तपुरको सूर्यविनायकसम्म बिहान साँढे ६ बजेदेखि राति ९ बजेसम्म गुड्ने गरी २० वटा बस सञ्चालनमा ल्याएको छ।
साझा यातायातले काठमाडौँको स्वयम्भूबाट कलङ्की, रविभवन, सोल्टीमोड, कालीमाटी, टेकु, त्रिपुरेश्वर, रत्नपार्क, थापाथली, माइतीघर, बबरमहल, नयाँबानेश्वर, मीनभवन, कोटेश्वर, जडिबुटी, लोकन्थली, कौसल्टार, गठ्ठाघर, नयाँठिमी, राधेराधे, सृजनानगर, सल्लाघारी हुँदै सूर्यविनायकसम्म जाने र फर्कने रुट निर्धारण गरी बस सञ्चालन गरेको हो ।
स्वयम्भूबाट भक्तपुरसम्म पुगेको बस भाडा भने साझाले २५ रुपैयाँ निर्धारण गरेको छ ।रासस