PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

राजीनामा घोषणामा प्रधानमन्त्री प्रचण्डका ३ भाव ४ दृश्य



मनोज सत्याल

राजीनामा घोषणामा प्रधानमन्त्री प्रचण्डका ३ भाव ४ दृश्य

काठमाडौं : संसदमा सम्बोधन गरेर प्रधानमन्त्री पदबाट राजीनामा दिन नपाएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशवासीका नाममा सम्बोधन मार्फत् पद त्यागे। राजीनामा दिँदा प्रचण्डले आफ्नो सरकारको पालामा स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भएको, आर्थिक वृद्धिदर उकालो लागेको, लोडसेडिङ अन्त्य भएको, भारत र चीनसँग कुटनीतिक सन्तुलन कायम गरे लगायतका कामका फेहरिस्त राखे। अनि आफूले कांग्रेसँग भएको समझदारी अनुसार राजीनामा दिएको पनि बताए।

सम्बोधनमा सफलताको ब्याख्या

प्रधानमन्त्री प्रचण्डले आफ्नो सम्बोधनमा सरकारका पालमा भएका कामहरुको ब्यख्या गरे। स्थानीय तहको निर्वाचन गराएदेखि लगानी सम्मेलन गरेको, भूकम्प पीडितलाई अनुदान एक लाख बढाएर तीन लाख दिनेसम्मका निर्णय लिएको बताए। लोडसेडिङ अत्य, स्वास्थ्य क्षेत्र अन्तर्गत विभिन्न उपचारको निशुल्क व्यवस्था अनि कृषिको आधुनिकीकरणसम्मका विषय समेटे। 

राजीनामाको कांग्रेससँग समझदारी 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिनुको कारण कांग्रेससँगको समझदारी रहेको खुलाए। 'नेपाली कांग्रेससँग भएको समझदारी अनुसार नै अगाडि बढ्दैछु,' प्रचण्डले भने, 'सत्ता छाड्न पर्दा अहिलेसम्म देखिने गरेको पीडा, आक्रोश र छटपटीको परम्परा तोड्दै अबका दिनमा पनि एउटा राजनीतिज्ञका रुपमा, एउटा सांसदका रुपमा र एउटा नागरिकका रुपमा मुलुक र जनताको उत्थानमा निरन्तर क्रियाशील रहने प्रतिवद्धतासहित म आजै र अहिल्यै प्रधानमन्त्री पदबाट राजीनामाको घोषणा गर्दछु।' नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच भएको सत्ता साझेदारीको आधारमा २०७३ भदौ १९ गते प्रचण्ड प्रधानमन्त्री निर्वाचित भएका थिए। 

राजीनामासँगै कुटनीतिक रुपमा ओलीलाई कटाक्ष

प्रधानमन्त्री प्रचण्डले राजीनामा दिँदैगर्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा उठाएका प्रश्नको जवाफ दिन छाडेनन्। केपी ओलीले संसदबाट राजीनामा दिँदै गर्दा फास्ट ट्र्याकको भविष्य, चीनसँगको समझदारी कार्यान्वयन लगायतका प्रश्न प्रचण्ड समक्ष सोधेका थिए। प्रचण्डले सम्बोधनमा ती विषयको जवाफ दिए। 

जब म प्रधानमन्त्रीको उम्मेदवार थिएँ, एकथरी साथीहरुले संसदमा मलाई उत्तेजनापूर्वक सोध्नुभएको थियो, ‘फास्ट ट्र्याक के हुन्छ? ओबीओआर के हुन्छ? हुलाकी मार्ग के हुन्छ?’ ती प्रश्न गलत थिएनन्। तर, सोध्नेहरुको नियत सही थिएन, ' प्रचण्डले भने, 'जब म यो सम्बोधनबाट जवाफ दिँदै छु, ट्र्याक अब बन्ने ग्यारेन्टी भयो।  केही दिनमै म त्यसको शिलान्यास गर्दैछु र नेपाली सेनाले बनाउँदैछ।' 


जे देखियो : राजीनामा घोषणमा ताली

प्रचण्डले पदबाट राजीनामाको घोषणा गरेर आफ्नो सम्बोधन टुङ्ग्याएपछि प्रधानमन्त्री कार्यालयमा रहेको हलमा ताली गुञ्जियो। प्रचण्डले आफ्नो सम्बोधनमा नेपालमा राजनीतिक इमान्दारिता नभएको बताएका थिए।

'हाम्रो राजनीतिको सबैभन्दा ठूलो समस्या राजनीतिक नेतृत्वमा इमानको कमी र उपयोगको संस्कृति हो। इमानदार भएर भन्नुपर्दा हामी सबै कुनै न कुनै रुपमा त्यो संस्कृतिका शिकार छौं। दलहरु र नेताहरु बीचमा पटकपटक भएका लिखित र अलिखित सहमतिहरु रातारात च्यातिएका थुप्रै उदाहरण छन्,' प्रचण्डले भनेका थिए।

राजीनामा लगत्तै निधिले मिलाए हात

प्रधानमन्त्रीबाट राजीनामा घोषणा लगत्तै उपप्रधान तथा गृह मन्त्री विमलेन्द्र निधिले प्रधानमन्त्रीसँग हात मिलाएर सहजता प्रदान गरे। परराष्ट्रमन्त्री प्रकाशशरण महतले पनि आफ्नो ठाउँबाट उठेर सम्मान प्रकट गरे। प्रधानमन्त्रीको दाहिनेतिर बसेका निधि प्रचण्ड र देउवा नेतृत्वमा आलोपालो सरकार चलाउने समझदारीका डिजाइनर समेत हुन्।

सधै झै ऋषि धमलाले सोधे प्रश्न

प्रधानमन्त्रीले राजीनामा सम्बोधन सके लगत्तै पत्रकार ऋषि धमला प्रश्न गर्न तम्सिए। उनले प्रश्न सोध्नका लागि प्रचण्डको नैतिकतालाई लिएर भूमिका बाँध्न थाले। प्रधानमन्त्री केहीबेर रोकिएर सुने पनि। तर मुख्य सचिवले यो देशबासीको सम्बोधन हो प्रश्न उत्तर हुँदैन भनेपछि प्रचण्ड उठे। उनले उठ्दै गर्दा ऋषि धमलालाई जवाफ दिए – हस् धन्यवाद।' 

हाँस्दै हात हल्लाएर बिदाई

प्रचण्ड सम्बोधन लगत्तै राजीनामा बुझाउन राष्ट्रपति कार्यालय तर्फ लागे। प्रधानमन्त्री कार्यालयबाट झर्दै गर्दा प्रचण्डको राजीनामा पत्र खाममा हालेर प्रकाश दाहालले बोकेका थिए। प्रचण्ड हात हल्लाउँदै कार्यालयबाट झरे अनि गाडी चढे। गाडीबाट पनि उनले हात हल्लाउँदै बिदाई लिए। 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell