PahiloPost

Jun 10, 2025 | २८ जेठ २०८२

दोलखाको मेलुङ गाउँपालिकामा एमाले विजयी



पहिलोपोस्ट

दोलखाको मेलुङ गाउँपालिकामा एमाले विजयी

दोलखा : दोलखाको मेलुङ गाउँपालिका अध्यक्षमा नेकपा एमालेका नरबहादुर श्रेष्ठ विजयी भएका छन्। यस्तै उपाध्यक्षमा एमालेकै कल्पना भण्डारी विजयी भएकी छन्। 

कांग्रेस माओवादी संयुक्त गठबन्धनका उम्मेद्वार वर्मा लामालाई ८९ मतको झिनो अन्तरले पराजित गर्दै श्रेष्ठ गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन्। श्रेष्ठले चार हजार चार सय ७५ मत प्राप्त गरे। गठनबन्धका लामाले चार हजार तीन सय ८६ मत प्राप्त गरेका छन्। 

श्रेष्ठ एमालेका जिल्ला उपाध्यक्ष समेत हुन्। 

यस्तै, उपाध्यक्षमा भण्डारीले चार हजार चार सय ९७ मत प्राप्त गरिन। निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेद्वार कृष्णबहादुर कार्कीले तीन हजार दुई सय ३२ मत प्राप्त गरे। 

मेलुङ गाउँपालिकाको पवटी मतदान केन्द्रमा वैशाख ३१ गतेको चुनावमा झडप हुँदा एक जनाको मृत्यु भएको थियो। उक्त मतदान केन्द्रमा जेठ ७ गते पुनः निर्वाचन भएपछि मतगणना भएको थियो।

मेलुङ गाउँपालिकाका सातवटा वडामा एमालेले चारवटामा जीत हासिल गरेको छ। यस्तै,  कांग्रेस दुई र माओवादी केन्द्रले एक वडामा जीत हासिल गरेको छ।

मेलुङको नतिजासँगै स्थानीय तह निर्वाचनमा दोलखाको सम्पूर्ण परिणाम आएको छ। अन्तिम परिणाम अनुसार दुई नगर र पाँच गाउँपालिकामा एमाले विजयी भएको छ। दुई गाउँपालिकामा कांग्रेस माओवादी गठबन्धनका उम्मेद्वार विजयी भएका छन्। जसमा दुवै गाउँपालिका प्रमुखमा कांग्रेसका उम्मेद्वार विजयी भएका छन्। 

स्थानीय तह निर्वाचनमा दोलखामा जिल्लाभर नै कांग्रेस माओवादी केन्द्रबीच औपचारिक रुपमा तालमेल भएको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell