
काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनले कसैले उल्टाउन नसक्ने गरी संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको बताएका छन्।
लाजिम्पाटस्थित निवासमा विभिन्न पार्टीका नेता तथा कार्यकर्तालाई नेकपा माओवादी केन्द्रमा स्वागत गर्दै प्रधानमन्त्रीले स्थानीय तहको निर्वाचनलाई अब कसैले उल्टाउन नसक्ने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको बताएका हुन् ।
प्रधानमन्त्रीले भने, ‘भर्खरै स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भएको छ, यसले संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको छ । अब कसैले यो उपलब्धि उल्टाउन सक्दैन । तपाईहरु जसरी माओवादी केन्द्रमा आउनुभएको छ, परिवर्तनका मुद्दाहरु संस्थागत गर्न र देशको समृद्धिका लागि तपाईहरुको ठूलो योगदान रहनेछ, म यहाँहरु सबैलाई हार्दिक स्वागत गर्दछु ।’
नेपाली राजनीतिमा सकारात्मक परिघटनाहरु अगाडि बढेको भन्दै प्रधानमन्त्रीले संविधान कार्यान्वयनको महान् प्रक्रिया सुरु भएको र यही जेठ ३१ गते पनि दोस्रो चरणको निर्वाचन सम्पन्न भएरै छाड्ने विश्वास व्यक्त गरे ।