काठमाडौं : माओवादीले बन्दुकको नालबाट परिवर्तन ल्याउने शंखघोषसहित जनयुद्ध सुरु गरेको २१ वर्ष पूरा भयो। जनयुद्ध थालेकै वर्ष २०५२ साल मंसिर ४ गते जन्मेकी सृजना लामा पनि २१ वर्षकै भइन्। यसबीचमा बन्दुकको नाललाई त्यागेर ब्यालेटको राजनीतिमा समाहित भयो माओवादी। जनयुद्धसँगै जन्मिएकी सृजना भने २१ वर्षकै उमेरमा गाउँपालिकाको उपाध्यक्ष बनेकी छिन्। उनी पहिलो चरणको निर्वाचनबाट चुनिएकी नेपालकै कान्छी गाउँपालिका उपाध्यक्ष हुन्।
…
'तपाईँलाई बधाइ छ है,' हामीले कान्छी जनप्रतिनिधिलाई फोन गर्यौँ, 'तपाईँ नेपालकै कम उमेरमै जित्ने उम्मेदवार हुनुभएछ।'
'ए हो र? धन्यवाद,' कान्छी जनप्रतिनिधिले आश्चर्यसहितको भावमा भनिन्।
२ सय ८१ स्थानीय तहमा भएको निर्वाचनमा जित्नेहरुको सूची पनि लामै छ। सबैका केही न केही विशेषता छन्। तर, फरक विशेषता हुने थोरै छन् जसमा पर्छिन् रसुवाको नौकुण्ड गाउँ पालिकाका निर्वाचित उपाध्यक्ष सृजना।
उपाध्यक्ष भएलगत्तै सम्पर्क गर्दा बिहान १० बजे नै उनी गाउँपालिका कार्यालय पुगिसकेकी रहिछिन्। जितलगत्तै जिम्मेवार! कस्तो अनुभव गरिरहेकी छिन् त?
'काम लिएर आउनेहरु धेरै हुनुहुन्छ। फुर्सदै नमिल्ने रहेछ यहाँ त।'
२१ वर्षे जोवन गम्भीर काममा होमिने समय त होइन नै। त्यसैले हुनुपर्छ उनलाई 'नौलो लागिरहेको छ' नयाँ जिम्मेवारी। रसुवाको कालिका क्याम्पसबाट उच्च शिक्षा लिएकी उनको राजनीतिक यात्रा छोटो छ।
स्थानीय तहको निर्वाचन हुने पक्का भएपछि उनलाई एकजना मित्रले उम्मेदवार बन्न उक्साए। लजालु पारामा भनिन्, 'आत्मीय र विश्वसिलो साथीले तिमी उम्मेद्वारी देऊ भन्नुभयो। अनि मैले दिएँ।'
वैशाख ३१ गते सम्पन्न पहिलो चरणको निर्वाचनमा नेकपा एमालेका तर्फबाट १६ सय ९ मत ल्याउँदै विजयी भइन् उनी।
एउटै उमेर समूहका साथीको आग्रहले नै उनलाई उम्मेदवार बनायो। भनौँ गाउँपालिकाका उपाध्यक्ष नै बनायो। त्यसो त जित सजिलो थिएन।
'छोरीमान्छेलाई जितायो बिहे गरेर गई भने के गर्ने?'
यस्ता प्रश्नहरु धेरै उठे। उठाउनै नहुने र हार्ने विश्लेषण गर्नेहरु कम थिएनन्। तर, उनी पछि हटिनन्। राजनीतिको कखरा सिक्ने अवसर पनि यही बन्यो उनका लागि।
'राजनीति त खेल रहेछ, कसैको विश्वास नै हुँदो रहेनछ,' उनले सुनाइन्, 'भेट्दा हुन्छ भन्ने मान्छे एकछिनमा नै अर्कैको हुँदो रहेछ।'
मध्यमवर्गीय परिवारमा जन्मिएकी उनले केही समय गाउँको स्कुलमा पढाइन्। त्यसपछि एनजिओको अनुभव पनि उनमा थपियो।
निर्वाचन जित्नकै लागि उनले ८ लाख रुपैयाँ जोहो गर्नु पर्योस। 'आफूसँगै हिडेका कार्यकर्तालाई भोकै त हिँडाउनु भएन,' नलुकाइ भनिन्, 'त्यसैले ऋण गरेर खर्च गरेँ।'
जनतालाई आफूले भोट माग्दा देखाएका वाचा भने पूरा गर्ने अठोट छ उनको। भन्छिन्, 'खानेपानी, सडक र शिक्षालाई जोड दिन्छु। कम उमेर भन्नेहरुलाई केही गरेर देखाउँछु।'
कान्छी जनप्रतिनिधिलाई हाम्रो पनि शुभकामना।