PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

संसदीय समितिले सरकारलाई भन्यो–निजगढ विमानस्थल निर्माण छिटो अघि बढाउ



रासस

संसदीय समितिले सरकारलाई भन्यो–निजगढ विमानस्थल निर्माण छिटो अघि बढाउ

काठमाडौंः संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको योजना र ढाँचा छिटो टुङ्ग्याई कार्य अगाडि बढाउन सरकारलाई निर्देशन दिएको छ । 

बिहीबार बसेको समितिको बैठकमा सांसदहरुले निजगढ विमानस्थल निर्माण सुस्त भएको भन्दै त्यसलाई छिटो अघि बढाउन माग गरेका थिए । 
बैठकले विमानस्थलको वातावरणीय प्रभाव मूल्याङ्कन छिटो सम्पन्न गर्न वातावरण मन्त्रालयलाई निर्देशन दिएको छ। 

बैठकले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यमा हाल देखापरेको अवरोध हटाउन तथा पोखरा विमानस्थल निर्माणको काम छिटो सुरु गर्न पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ। 

त्यस्तै, सप्तरीको राजविराज विमानस्थलको पहुँच मार्गको प्रथमचरणको कार्य सम्पन्न गरी अविलम्ब दोस्रो चरणको कार्य सुरु गर्न समितिले निर्देशन दिएको छ । 

बैठकमा संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देवले निजगढ विमानस्थलको निर्माण कार्य ढिला भइरहेको स्वीकार गर्दै यसको निर्माणको ढाँचाबारे राजनीतिक सहमति कायम गर्न यसै महिनाभित्रै सबै दलका शीर्ष नेता सम्मिलित छलफल आयोजना गर्न लागिएको जानकारी दिए। 

उनले विमानस्थल निर्माणको गुरुयोजना तथा प्रथम चरणमा गरिने निर्माण कार्यको विस्तृत डिजाइन तयार गर्न अन्तर्राष्ट्रियस्तरको परामर्शदाता छनौटका लागि आशयपत्र माग गरी मूल्याङ्कन अघि बढाइएको बताए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell