PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

महानगर घोषणा भएकोमा वीरगञ्जमा दीपावली



राधेश्याम पटेल

महानगर घोषणा भएकोमा वीरगञ्जमा  दीपावली

वीरगञ्ज : सरकारले वीरगञ्जलाई उपमहानगरपालिकाबाट महानगरपालिकामा स्तरोन्नती गरेपछि वीरगञ्जवासी खुशी भएका छन्। महानगरवासी भएकोमा खुशी हुँदै आफूहरुलाई सरकारको निर्णयले गर्व अनुभव भएको बताएका छन्। 

प्रदीप जैसवाल –शिक्षक
सरकारको निर्णय एकदमै सराहनीय छ। राज्यले साँच्चै नै आज आएर न्याय गरेको महसुस गर्दैछु। यो खुशीको कुरा हो। अब हामी पनि गर्वका साथ भन्न सक्छौं कि वीरगञ्ज महानगरवासी हौ हामी।


राजकुमार गुप्ता – सांसद एमाले
सरकारको निर्णय भन्दा पहिले एमाले पार्टीमै निर्णय गरिएको थियो वीरगञ्ज, विराटनगर, जनकपुरलाई महानगर बनाउने। तर दुई वटा घोषणा भएको छ बाँकी पनि विस्तारै घोषणा हुने विश्वास राखेको छु। सबैले मिलेर अब वीरगञ्ज महानगरको साख जोगाउनुपर्छ। वीरगञ्जको विकासको क्षेत्रमा यो ऐतिहासिक कदम हो ।

संगीता पटेल – विद्यार्थी
वीरगञ्ज महानगर घोषणामात्र भएर साच्चै वीरगञ्ज विकसित हुन्न। घोषणाले वीरगञ्ज आसपासमा जग्गाको मूल्य अकासिन्छ। बाहिरबाट वीरगञ्ज शहरमा बसोबास गर्न आउनेहरुका लागि धेरै समस्या उत्पन्न गराउँछ। गाविसस्तरका जनता महानगरमा बस्छन्, उच्चदरमा कर पनि तिर्छन तर सेवाको नाममा केही पनि पाउँदैनन्।’

डा. दीपक शाक्य–नागरिक अगुवा
वीरगञ्जलाई महानगर बनाउनु सरकारको सकारात्मक कदम हो। तर यतिकैमा धेरै खुसी हुने कुरा छैन। विकासको क्षेत्रमा वीरगञ्जले भौतिक पूर्वाधार बनाउनु पर्ने जरुरी छ। आज राजनीतिक रुपमा घोषणा भएसँगै नगरमा करको दायरा बढ्छ। मानिसको सेवाको अपेक्षा बढ्छ, ठूलो बजेटको आवश्यकता पर्छ। बजेट सही रुपमा खर्च गरी वीरगञ्जलाई अत्याधुनिक शहर बनाउनुपर्छ। ग्रामिण भेगका जुन गाविसहरु थपेर महानगरपालिकाको वडाहरु समावेश गरिएको छ ती वडाका जनताको मन पनि जित्नुपर्छ। 

प्रकाश थारु–समाजिक अभियन्ता
महानगरपालिका भएकोमा सबैले मिठाइ बाँड्दैछन्। उपमहागनर भएर पनि जनतालाई प्रभावकारी सेवा प्रवाह गर्न नसकेको कार्यालयले कसरी महानगरको सेवा दिन सक्छ भन्ने विषयमा चिन्तित छु। नारायणी उपक्षेत्रीय अस्पतालको हविगत कस्तो छ भन्ने विषयमा सबैलाई थाहा छ। २०७१ सालमा थपिएका ११ वटा गाविस हालका वडाहरु आज पनि गाउँ नै छन्। घोषणाले मात्र के हुन्छ? काम गर्नुपर्छ। अनि महानगरवासीको दर्जा मिल्छ।


ओमप्रकाश शर्मा –अध्यक्ष, वीरगञ्ज उद्योग वाणिज्य संघ 
वीरगञ्ज महानगरपालिका घोषण भएकै भोलिपल्ट वीरगञ्ज आसपासका उद्योगीहरु आफनो घरघरको अगाडि र प्रतिष्ठान नजिक दिपावली गरी खुशीयाली मनाएका छन्। २० वर्ष पहिलेको लालसा आज पूरा भएको छ। महानगर घोषणाले यहाँका उद्योगी व्यावसायीमा उर्जा थपेको छ। उपमहानगरपालिका भएर पनि आगलागी निभाउने एउटा मात्र थोत्रो दमकल छ। महानगर भएपछि धेरै कुरा गर्न बाँकी छ। एकैचोटी गाविसबाट महानगरमा केही गाविस गाभिएका छन्। जबसम्म ती क्षेत्र शहर सरह विकसित हुँदैनन्, तबसम्म उनीहरुसँग शहरको जनता सरह कर असुली गर्न न्यायसंगत देखिंँदैन। 

पीताम्बर अधिकारी –प्रमुख कार्यकारी अधिकृत
वीरगञ्जवासीको चाहना अनुसार सरकारले वीरगञ्जलाई उपमहानगरबाट महानगरमा स्तरोन्नती गरेको छ। सबैको लागि खुशीको कुरा हो। तर यस निर्णयसँगै वीरगञ्ज महानगरपालिकोको दायित्व र जिम्मेवारी पनि थपिएको छ। साथै अगागी दिनमा वीरगञ्ज महानगरपालिकालाई सफा, सुन्दर , व्यवस्थित र अत्याधुनिक विकसित शहरको रुपमा विकसित गर्न साझेदारको रुपमा सहयोग गर्न अपिल गर्दछु।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell