
काठमाडौं : विभागीय टीम नेपाल पुलिस क्लबले राजधानीमा जारी प्राइममिनिस्टर कप क्रिकेटमा लगातार दोस्रो जित हात पारेको छ।
बिहिबार भएको आफ्नो दोस्रो खेलमा पुलिसले पूर्वाञ्चललाई ९ विकेटले हरायो। १०५ रनको सामान्य लक्ष्य पुलिसले १७.१ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गर्यो।
समूह बी मा दुई जित हासिल गरेको पुलिस सेमिफाइनल नजिक पुगेको छ। पुलिसले पहिलो खेलमा बुधबार सुदूरपश्चिमलाई ७ विकेट पराजित गरेको थियो। यता पूर्वाञ्चलको भने यो दोस्रो हार हो।
कीर्तिपुरस्थति टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पूर्वाञ्चल ३७.१ ओभरमा १०५ रनमा अलआउट भयो। पूर्वाञ्चलका लागि मेहवुव आलमले सर्वाधिक ४० तथा विकेटकिपर अमल दासले १३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक समेत छुन सकेनन्।
आलमले ४७ बल खेल्दै २ चौका र ३ छक्का प्रहार गरे। पूर्वाञ्चललाई कम स्कोरमा रोक्न पुलिसका सिद्धान्त लोहनीले सर्वाधिक ३ ललित सिंह भण्डारी र सुशिल कँडेलले समान २ विकेट लिए। कुशल भुर्तेल र कप्तान मन्जित श्रेष्ठलेसमान १ विकेट झारे।
यस प्रतियोगितामा पहिलो खेल खेलिरहेको सुनिल धमलाले अर्धशतक प्रहार गरेपछि १०५ रनको लक्ष्य पुलिसले १ विकेट गुमाएर सहजै पूरा गरेको हो। धमलाले ४९ बल खेल्दै ३ चौका र ३ छक्काको मद्दतमा नटआउट ५६ रन बनाए।
यस्तै विकेटकिपर दीलिप नाथले नटआउट ३६ रनको योगदान गरे। ३३ बल खेलेका नाथले ६ चौका प्रहार गरे।
अघिल्लो खेलमा सुदूरपश्चिम विरुद्ध अर्धशतक बनाएका अमित श्रेष्ठ ७ रनमा आउट भए। सुदूरपश्चिमका विधान गोस्वामीले १ विकेट लिए।
प्रतियोगिताअन्तर्गत शुक्रबार समूह बी कै पूर्वाञ्चल र सुदूरपश्चिमाञ्चलबीच खेल हुनेछ।