
काठमाडौः राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतिका आधारमा सरकार गठनका लागि दलहरुलाई आह्वान गरेकी छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले राजिनामा बुझाएको एक दिनपछि राष्ट्रपति भण्डारीले सहमतीय सरकार गठनका लागि दलहरुलाई आह्वान गरेकी हुन्।
‘नेपालको संविधानको धारा १९८ को उपधारा दुई बमोजिम सात दिनभित्र सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन गर्न संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुलाई आह्वान गर्नुभएको छ,’ राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ।
राष्ट्रपतिले दिएको अवधीमा सहमतिका आधारमा सरकार गठन सम्भव नभएमा दलहरुले राष्ट्रिपतिलालाई जानकारी गराएपछि राष्ट्रपतिले बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्रीको चयन गर्न आह्वान गर्नेछिन्।
त्यसपछि संसद्ले बहुमतका आधारमा प्रधानमन्त्री चयनका लागि उम्मेदवार मनोनयन दर्तासहितका निर्वाचन कार्यक्रम प्रकाशित गरी ससदमा भोटिङ् गराउने छिन्। त्यसरी भोटका आधारमा हुने मत विभाजबाट प्राप्त हुने मतका आधारमा संसद्मा कायम रहेको संख्याको बहुमतबाट प्रधानमन्त्रीको चयन हुनेछ।
संसद्मा हाल ५९३ सिट कायम रहेकाले संसदको बहुमत प्रापत् गर्नका लागि प्रधानमन्त्रीका उम्मेदवारलाई २९७ सिट आवस्यक हुन्छ।