PahiloPost

Nov 25, 2024 | १० मंसिर २०८१

देउवाको सत्तारोहणमा रामचन्द्र रमिते (टिप्पणी)



सूर्य खड्का

देउवाको सत्तारोहणमा रामचन्द्र रमिते (टिप्पणी)

काठमाडौँ : सोचे जस्तो हुन्न जीवन। झन् राजनीतिक जीवन त सम्भावनाहरुको खेल हो। राजनीतिमा भर केहीको हुन्न। यो त मौसम जस्तै कुनै पनि बेला बदलिन सक्छ। तर, राजनीतिज्ञको उकालो यात्राको संघर्ष भने उद्देश्य केन्द्रित भएर जारी रहन्छ। कतिपय नेताहरुलाई उपल्लो स्तरको राजनीतिक सफलताका लागि कहिले मौसम, कहिले समय, कहिले भाग्य त कहिले साथी संगी वा सारथीहरुकै हात र साथ मिल्दैन।

अहिले देशकै सात दशक लामो प्रजातान्त्रिक संघर्षको पर्याय, संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पुनः सत्ताको बागडोर सम्हाल्दै गर्दा त्यही दलका एकजना शीर्ष नेता भने प्रधानमन्त्रीको दौडमा प्रतिस्पर्धी होइन, रमिते बन्न विवश छन्। उमेर, योग्यता, चाहना र तिर्सनाहरुलाई हठात् कुल्चँदै सत्ताको नेतृत्व पार्टीले गर्न लागेका बेला आकांक्षी बन्न नपाइ रमिते बन्नुको पीडा कतिहदसम्म हुन्छ होला? यसको सपाट जवाफ अरुले भन्दा ज्यादा रामचन्द्र पौडेलले मात्रै दिन सक्छन्। किनभने सँधै 'अभागीले खाने बेला हुरी बतास' भने जस्तै नियतिका एकजना भुक्तभोगी बनिसकेका छन् यिनी।

नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा कोइराला वंशको बिँडो र विरासत थाम्ने समकालीन नेपाली नेतामध्येमा उनी उच्च कदका शलिन नेता नै हुन्। दुई वर्षअघि उनले कोइराला खेमाको तर्फबाट सभापतिका लागि प्रजातान्त्रिक खेल खेले। तर, सुदूरका शेरबहादुरको कांग्रेस सभापतिमा पहिलो पटक निर्वाचनका मैदानबाटै उदय भयो, उनी कांग्रेसभित्रैका प्रतिपक्षी कित्ताका नेतामा साँघुरिए। संस्थापनमा हाली मुहाली भैगयो कोइराला इतर देउवा समुहको।

अहिले देश ४० औं प्रधानमन्त्रीको छनौट गर्ने कोर्समा छ। अनि त्यसको एकल दावेदार र स्वतः विजेता पनि उही चारतारे झण्डावाल नै हो। तर, कांग्रेसका सभापति तथा संसदीय दलका नेता देउवा नै यो रेसका हकदार छन्। त्यसैले पौडेल आफूलाई प्रतिस्पर्धीका रुपमा समेत उभ्याउन सकिरहेका छैनन्। 

उमेरले ७० को नेटो भेट्न लाग्दासम्म जीवनमा एकपटक जनताका छोराछोरी पुग्न पाउने देशको कार्यकारी प्रमुख पदमा एकै दिनका लागि भए पनि राज गर्ने कत्रो चाहना होला रामचन्द्रको? 

तनहुँका एक घाँसीले कुवा खनाएर भानुभक्तलाई अजरअमर कृति रामायण रचनाको उत्प्रेरणा दिए जस्तै सिंहदरबारमा एकपटक प्रधानमन्त्री बनेर देशकै लागि सम्वृद्धि र आत्मानिर्भरताको जग हाल्ने कत्रो सोख र सोच होला तनहुँवासी पौडेलको। 

उनै रामचन्द्र हुन् २०६७ सालमा झलनाथ खनाल प्रधानमन्त्री हुनुअघि १९ पल्ट संसदमा प्रधानमन्त्रीका लागि प्रचण्डसँग पौठेजोरी खेले। प्रचण्डले वाक ओभर दिएपछि पनि पटक पटक जितको गाथा बुन्न खोजे उनले। तर 'अभागी खप्पर जता गए नि ठक्कर' भने रह्यो। हारकै कीर्तिमानमा उनको नयाँ पहिचानको फुर्को थपियो।

अतृप्त तृष्णा हो एक पटकको देशको कार्यकारी प्रधानमन्त्री हुने पौडेल चाहाना। लामो राजनीतिक संघर्षको जगमा उनी कांग्रेस भित्रको कोइराला खेमाको बहालवाला मुखिया भएका कारण पनि स्वतः दावेदार नै हुन्। तर फेरि पनि देशको ४० औं प्रधानमन्त्री चयनको रेसमा रिङ प्रवेश नै नपाएका कारण धेरै बिक्षिप्त भएको हुनुपर्छ पौडेल। 

एक पटक होइन तीन/तीन पटक प्रधानमन्त्री भइसकेका सभापति देउवासामु एक पटक पनि आफूले भने  मौका नै नपाउँदा कति मन कुडिँदो हो उनको? उनी कति मुर्मुरिँदा हुन मनमनै। तर, के गर्नु जसका लाठी उसका भैंसी भने झैं हुने कांग्रेसी सत्ता राजनीतिमा उनी मुक दर्शकमात्र रहिरहे।
एक पद एक व्यक्ति गर्ने हो भने उनी प्रधानमन्त्रीका हकदार नहुने कुरै थिएन। किन भने वरिष्ठ नेता बाहेक पौडेलसँग कार्यकारी कुनै पद र जिम्मेवारी छैन। विगतमा पुर्नस्थापित प्रजातन्त्रकालमा उनले सम्माननीय सभामुख भइसके पनि साम्यवादी सत्तापछिको नयाँ रसिएन शासक भ्लादिमिर पुटिनलाई बिर्साउँदै पुनः मन्त्री पद खाएकै पनि हुन्। संसदमा तत्कालीन सांसद गोल्चे सार्कीको जुत्ता प्रहार सहेर पनि संसदीय बहुदलीय प्रजातन्त्रको रक्षार्थ कुर्वानी गरेकै हुन्। तर, उनको यस्तो योगदानको कुनै कदर भएर सत्ता यात्रा सदर भएन।

कांग्रेसको १३ औं महाधिवेशनमा काठमाडौंको खुल्लामञ्चमा उद्‍घाटन सत्रलाई सम्बोधन गर्दै  राजनीतिको विकृत रुपविरुद्ध मनमुटुबाटै भक्कानिएका थिए उनी। उनले भनेका थिए, 'भ्रष्ट राजनीति देख्दा आत्महत्या नै गर्न मन लाग्छ ।' धन्य। भगवानका कृपाले उनले आत्महत्याको बाटो रोजेनन्, प्रसँग उप्काएरै बिट मारिदिए। जननायक वीपीकालीन मूल्य, मान्यता, आदर्श र संस्कारबाटै पार्टी अघि बढाउन उनले भगिरथ प्रयत्न पनि गरेकै हुन्। तर, उनलाई पार्टी प्रमुख हुने मौका दुईदुई पट्कका चुनावी चरणमा पनि १३ औं महाधिवशेन ताका नै मिलेन। 

कांग्रेस यदि गुटैगुटको झुण्ड हुँदैन्थ्यो भने यतिबेला सभापति देउवाले आफ्ना समकालीन र त्यागी पाका पुराना सहयात्री नेता पौडेललाई सिहांसनमा विराजमान गराउँदा केही बिग्रनेवाला थिएन। तर कोइराला गुटका पनि केवल प्रतिक्रियात्मक प्रणाली थाम्ने मात्रै हैसियतले होला न रिझाएर न त वाध्य पारेर प्रधानमन्त्रीको अवसर आफ्ना पोल्टोमा पार्ने ल्याकतमा पौडेल वा उनको समुह शक्तिशाली देखिन सक्या छैन।

रामायणको कथा अनुसार रामचन्द्रले राजकाज चलाउन नपाएर १४ वर्ष वनबास गरेभन्दा कम चोटिलो छैन चारतारे रामचन्द्रको सत्ता नायक हुने वा पार्टी प्रमुख हुने अभिलासा। उनी सोच्छन जित्न। परिणाम मिल्छ पराजय। यसपटक कांग्रेसलाई सत्ताको नेतृत्व सुम्पदा माओवादी अध्यक्ष प्रचण्डले अपनाएको जस्तै इमान्दारीको उदाहरण देउवाले पौडेललाई देखाइदिए हुन्थ्यो भन्ने मतहरु पनि सामाजिक सञ्जालमा छाइरहेका छन्। तर सत्ताका सदाबहार आकांक्षी सभापति देउवाबाट रामचन्द्रको राजनीतिक वनबासमा ब्रेक र सत्ता नेतृत्वका लागि क्यासमा त के उधारोमा पनि चेक प्राप्त हुने आशा 'आकाशको फल आँखा तरी मर' सरह नै होला। 

त्यसैले मनमनै मुर्मुरिँदै फेरि पनि रामचन्द्र सम्झँदा हुन् उही रामकृष्ण ढकालले गाएको गीत ओराली लागेको हरिणको चाल भो...
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell