PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

काठमाडौंको उपमेयरमा जित नजिक पुगेकी हरिप्रभा भन्छिन् ‘विपक्षीको पुरुष उम्मेद्वार नै जितको आधार’



सविन ढकाल

काठमाडौंको उपमेयरमा जित नजिक पुगेकी हरिप्रभा भन्छिन् ‘विपक्षीको पुरुष उम्मेद्वार नै जितको आधार’

काठमाडौँ : वैशाख १९ गते उम्मेद्वार मनोनयनका क्रममा नेपाली कांग्रेसका तर्फबाट काठमाडौँ महानगरमा उपमेयरकी उम्मेद्वार हरिप्रभा खड्गीले भनेकी थिइन ‘म बाहेक अर्को प्रतिस्पर्धी नै नभए जस्तो अनुभव मैले गरिरहेकी छु।’

एमाले र राप्रपाबीच तालमेल भए पनि गठबन्धनको उम्मेदवार सोचेअनुसार नभएकोमा खड्गीको यस्तो प्रतिक्रिया थियो।

स्थानीय तह निर्वाचन ऐनले महानगरको प्रमुख वा उपप्रमुखमध्ये एकमा महिला अनिवार्य भने पनि गठबन्धन गरेका दलले त्यसलाई वेवास्ता गरेका थिए। खड्गीले कानुनी व्यवस्थालाई समेत आधार मानेर आफ्नो प्रतिस्पर्धी नभएको टिप्पणी गरेकी थिइन्।

मतदान र मतगणनाको १२औँ दिनसम्म आइपुग्दा खड्गीको यो प्रतिक्रिया आत्मविश्वासमा बदलिएको छ। जारी मतगणनामा गठबन्धन तर्फका उम्मेद्वार राजाराम श्रेष्ठभन्दा उनी १८ हजार बढी मतले अघि छिन्।

उनी भन्छिन् ‘अब त जिते बराबर नै हो।’

जितको नजिक पुगे पनि मतगणना स्थल राष्ट्रिय सभागृहमा पुग्न छोडेकी छैनन्। बुधबार पनि उनी सभागृहमा नै भेटिइन्।

सभागृहमा भेटिएका कार्यकर्ता र चिनेजानेकाले उनलाई घेरे। औपचारिक परिणाम नआए पनि फराकिलो लिड गरिरहेकी उनलाई सवैले बधाई दिए।

जित नजिक हुनुहुन्छ किन आउनुभयो? जवाफमा उनी भन्छिन् ‘जितेँ भन्दैमा घरमा सुतेर त बस्न भएन। हार्ने जित्ने सबैलाई कसरी समेटर लैजान सकिन्छ भनेर वातावरण बनाउन पनि आउने गर्छु।’

‘क्लिन एण्ड ग्रीन’ महानगर बनाउने घोषणापत्र लिएर मैदानमा होमिएकी उनी विपक्षी गठबन्धनको प्रतिस्पर्धीका कारण पनि सहज जित नजिक रहेको बताउँछिन्। भन्छिन् ‘मेयर पुरुष भइसकेपछि महिलालाई दिनुपर्ने उपमेयरमा पनि पुरुष उठाइयो मेरो लागि यही जितको सशक्त आधार बन्यो। पुरुष उम्मेद्वार खडा गरेर आफ्नो खुट्टामा बञ्चरो हाने।’

खड्गी १८ हजार मतले अघि हुँदा उनकै पार्टीका मेयरका उम्मेद्वार भने ११ हजार मतले प्रतिस्पर्धीसँग पछि परेका छन्।

हरिप्रभाको अनुमान छ –उपमेयरमा विपक्षीको पनि महिला उम्मेदवार भएको भए यति धेरै मतान्तर नहुन सक्थ्यो। विद्यार्थी राजनीतिदेखिको आफ्नो कामको मूल्याङ्कन मतदाताले गरेको उनको बुझाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell