PahiloPost

Nov 25, 2024 | १० मंसिर २०८१

राजपासामु प्रश्न : उपेन्द्र यादव झै चुनावमा जाने या नासिने? (टिप्पणी)



सूर्य खड्का

राजपासामु प्रश्न : उपेन्द्र यादव झै चुनावमा जाने या नासिने? (टिप्पणी)

काठमाडौं : 'जसलाई तिमी उपलब्धि भन्दै छौ के ती सब तिम्रा कारणले प्राप्त भएको हो? उनीहरुलाई चाहिए जति प्राप्त भइसकेपछि त्यसैलाई सबैको उपलब्धि भन्दै रक्षाको कोलाहल सुरु गरेका छन्। तिमीले खोजेको कुराहरू अहिले प्राप्त भइसकेको छैन। त्यसैले तिमी के को रक्षाको कुरा गर्छौ? आफ्नो उपलब्धिको रक्षा गर्न उनीहरू आफै सक्षम छन्। तिमीले उनको उपलब्धि रक्षा गरिरहनु पर्दैन। एकपटक आफ्नै बिगतलाई चियाएर हेर, के खोजेका थियौ र के पाएका छौ?'

पूर्व पत्रकार एवम् मधेश राजनीतिका विश्लेषक तुलानारायण साहको प्रतीकात्मक शब्द प्रहार संघीय समाजवादी पार्टी र त्यसका नेता उपेन्द्र यादवप्रति नै थियो। चलाखीपूर्वक नामै नलिएर उनले यादवमाथि निशाना लगाए। साहको यो कटाक्षले दोस्रो चरणको स्थानीय तह चुनावले तराई मधेशमा बढाएको चुनावी ज्वरोको संकेतमात्रै गर्दैन त्यसमा उपेन्द्र यादवको महत्व र हैसियतलाई पनि सम्झाउँछ।

राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरम र नेपाल लोकतान्त्रिक फोरमबीच ३१ जेठको दोस्रो चरणको निर्वाचनमा तालमेल गर्नेबारे छलफल चल्दैगर्दा चुनावका पक्षमा जसै अग्रभागमा देखिँदैछन् उपेन्द्र यादव उसै उनको समर्थन र विरोधमा जनमत सडक र सामाजिक संजालमा पनि पोखिँदैछ।

बिहीवार राजपा अध्यक्ष महन्थ ठाकुरको निवासमा फोरम अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छदारबीच निर्वाचनमा तालमेल गर्नेबारे छलफलको सुरुवात हुनुका मुख्य पात्र वा सूत्रधार नै थिए यादव। राजपाका अध्यक्ष महन्थ ठाकुरले आफूहरूको पार्टी निर्वाचन आयोगमा दर्ता भएको तर निर्वाचन चिह्न नपाएकाले समस्या रहेको उल्लेख गरेलगत्तै तालमेलको प्रसंग उठेको थियो। छलफलमा फोरम नेपालका अध्यक्ष यादवले निर्वाचनमा साझा उम्मेदवारी दिनका लागि सहकार्य गर्न ठाकुर र गच्छदारसँग प्रस्ताव गरेका छन्। यादवको प्रस्तावलाई ठाकुर र गच्छदारले सकरात्मक लिए पनि निर्णय भने भइसकेको छैन। संघीय गठबन्धनका संयोजकबाट आफु निकालिएको केही साता कै अन्तरालमा उपेन्द्रले चुनावी एकताका लागि उनै महन्थ ठाकुरसँग हात र साथ बढाउन खोजेका छन्। यसले चुनावी समरमा जसरी पनि मधेशी दलले जित्नै पर्ने मनसिकताबाट उनीहरु बढी निर्देशित रहेको स्पष्टै हुन्छ।

उपलव्धिहरु रक्षाको बाटो

संघीय समाजवादीका अध्यक्ष यादव र लोकतान्त्रिक फोरमका अध्यक्ष तथा कामचलाउ सरकारका उपप्रधानमन्त्री गच्छदारले मधेश आन्दोलनको उपलब्धिलाई संस्थागत गर्न निर्वाचनमा जानुपर्ने धारणामा जोड दिँदै आएका छन्। उनीहरु पार्टी फुटेको वर्षौंपछि स्थानीय चुनावी समरका जीतका लागि कार्यगत एकता र सहकार्यमा पनि लालायित देखिएका छन्। यसरी लामो समय बोलचाल नै नभएका यी दुई नेता मिल्न उद्धत हुँदै जाँदा राजपाका नेताहरुले दोस्रो चरणको चुनाव केका आधारमा कुन एजेण्डामा टेकेर चुनाव बहिष्कार गर्ने र त्यसको ‌ओचित्य कसरी सिद्ध गर्ने भन्ने निकै पेचिलो प्रश्न छ अहिले। राजपाभित्र राजेन्द्र महतो र राजकिशोर यादव मात्रै निर्वाचनमा जान नहुने पक्षमा छन् भने अन्य नेताहरू महन्थ ठाकुर, शरतसिंह भण्डारी, महेन्द राय यादव, अनिल झा निर्वाचनलाई उपयोग गर्ने रणनीति रहेका विवरणहरु आइरहेका छन्। यस्तो बेलामा पहिलो संविधानसभा ताका नै फुटेका गच्छदार र यादव पहिलो पटक स्थानीय चुनावका बहानामा एक ठाउँ भएका हुन् समान एजेण्डामा।

यो प्रसंगले पहिलो चरणको स्थानीय चुनावमा भाग लिने उपेन्द्र यादवको दलीय निर्णय सही थियो भन्ने मात्र सिद्ध गरेन घुमिफिरी राजपा पनि त्यही बाटोमा आउन र मिलेर जान आवश्यक रहेको पनि देखायो। गच्छेदार, ठाकुर र यादवले चुनावी तालमेलको बहस सुरु गर्नुले पनि सोही तथ्य स्थापित गर्छ।

चुनावका पक्षमा जनता

हो ३१ जेठको प्रतिक्षामा छन् प्रदेश नम्बर १, २, ५ र ७ का मतदाता। कारण उनीहरुले आफ्ना मतबाट स्थानीय सरकार चयन गर्ने काम अझै बाँकी छ। यसकारण पनि उनीहरु निकै रुचिपूर्वक छिटो चुनाव होस् भन्ने नै चाहिरहेका छन्।

३१ जेठमा चुनाव नहुने कुरामा कमै आशंका छ। तर सो चुनावमा मधेशबाट प्रतिनिधित्व गर्ने दलहरुको पनि दल राजपाको सहभागिताको अझै पनि टुंगो लागेको छैन। कारण राजपाको माग अनुसार संविधान संशोधनको काम सरकार र संसदले पूरा गरेका छैनन्। तर पनि कामचलाउ भइसकेको प्रचण्ड सरकारले उनीहरुका माग धेरै हदसम्म पूरा भने गरेको छ। संविधान संशोधन नभएको बहानामा निहुँ मात्रै खोजेर बस्ने हो भने पनि मिल्ने र कुरो बुझेर चुनावमा गए पनि मिल्ने नै वातावरण छ मधेशी दलहरु खासगरी राजपाका लागि।

बाजी मार्दै संघीय समाजवादी

तर, यही अवसरमा तराइ मधेश क्षेत्रलाई ध्यानमा राखेर गर्न लागिएको दोस्रो चरणको चुनावमा मधेशी मोर्चाकै एक घटक संघीय समाजवादी पार्टी भने बाजी मार्न आतुर देखिएको छ। पहिलो चरणको चुनावमा नै उत्साहपूर्वक भाग लिएर पनि सन्तोषजनक मत पाउन नसकेको संघीय समाजवादीले नयाँ शक्ति दललाई चुनाव चिन्ह नै सापटी दिएर पनि चुनावी तालमेलसहित पहिलो चरणमा नै जीत हासिल गर्न खोजेकै हो। तर सकेन। पहिलो चरणको नगन्य चुनावी सफलताले कत्ति पनि विचलित छैन संघीय समाजवादी फोरम।

खासगरी संघीय समाजवादीमा हेभीवेट नेताहरु छन\, उपेन्द्र यादव जो आफैमा हुन पूर्व माओवादी, अर्का वरिष्ठ नेता छन् अशोक राई जो हुन् पूर्व एमाले उपाध्यक्ष। यस्तै राजेन्द्र श्रेष्ठ वा महानगरमा मेयरका पराजित प्रत्यासी पवित्रमान बज्राचार्यहरुको पनि हुल सो दलको शक्तिका रुपमा रहेको छ। अन्य जनजाति नेताहरु पनि यो दलका सारथी हुन् राजपाको तुलनामा।

मधेश अभियानका अग्ला अगुवा

यदि १० वर्षे जनयुद्धको सुरुवाती इतिहासका पाना पल्टाएर हेर्ने हो भने उनी एकजना पूर्व विद्रोही लडाकु हुन्। तराई मधेश क्षेत्रका तत्कालिन कमाण्डर पनि। तराई मधेशको भुगोल, जीवन र समाजका हर गल्छी र चौकहरुमा उनी भूतपूर्व मास्टरसाव पनि हुन। २०६२/६३ को जनआन्दोलन २ सफल भएपछि उठेको मधेश आन्दोलनको जगमा त उनी मधेशमा विद्रोहका मशाल बाल्ने एकल सुरवीर पनि हुन्। 

मानिसहरु जसै राजधानी काठमाडौंको सत्ताको सात्तो उडाएको गौर नरसंहारको प्रसंग सम्झन्छन्, त्यसबेला महाभारतको कुरुक्षेत्र बनेको गौर हत्याकाण्डको आलोकमा उनलाई मानिसहरु कौरव नै सम्झन्छन्। तर ती सबै राजनीतिक कलेवरका आरोह अवरोहहरुका बीच पनि उनी एकजना विद्रोहीमा मात्रै सीमित भएनन्, बरु उदाए तराई मधेशको भूगोल, जीवन र समाजका नविन आशा लाग्दा राजनीतिक नेताका रुपमा।

उपेन्द्र यादवसँग राजनीतिको लामो यात्रा होइन, छोटो समयमा लामो सफर गरेको स्वर्ण अनुभव छ। उनी जनयुद्धकालमा माओवादीले कारवाही गरेर गलहत्याइएका पूर्व कामरेडको पगरी गुथेर मात्रै बसेनन्, बरु वैकल्पिक राजनीतिक राजमार्गको बेजोड तयारीमा लागे। मधेशी जनाधिकार फोरम नामक एक गैर सरकारी संस्थालाई क्षेत्रीय हुँदै राष्ट्रियस्तरको प्रभावशाली राजनीतिक दल बनाउने उनको प्रयास सुरुका दिनमा असम्भव जस्तो लागे पनि अहिले उनले त्यसलाई व्यवहारिक यथार्थमा बदलिसकेका छन्।

राजनीति सत्तामा जानका लागि नै गरिन्छ। उनले दलीय हैसियत अनुसार पहिलो संविधानसभामा तत्कालीन संसदीय गणितमा पाएको चौथो ठूलो दलको हैसियतलाई सत्ताको उपयोगमा पनि उम्दा बनाउने प्रयास गरे उनले। आफ्नो राजनीतिक बायोडाटामा देशका भूतपूर्व उपप्रधान तथा विदेशमन्त्रीको उपमा थप्दै गर्दा उनको चलाखीपूर्ण राजनीतिक संघर्ष नै स्थापित भएको थियो। कसैको निगाहा र बक्सिसमा उनले त्यो शासकीय उचाई चुमेका थिएनन्। 

देशमा चलेको तराई मधेशवाद केन्द्रित राजनीतिक हुण्डरीमा पनि अग्रमोर्चाका नेता उनै बने। कांग्रेसबाट महन्थ ठाकुर, विजय कुमार गच्छेदार, शरतसिंह भण्डारी जस्ता एक से एक हस्तीहरु बहकिएर क्षेत्रीय मधेशी दलको स्थापनामा होमिनुका प्रेरक वा ईश्याका पात्र र राजनीतिक प्रवृत्ति उपेन्द्र यादव नै थिए। उनले अहिले राजपामा आवद्ध प्रायः सबै दल र लोकतान्त्रिक दलका उपप्रधानमन्त्री विजय गच्छेदारहरुलाई आफ्नै दलमा टिकाइरहन, रिझाइरहन सकेनन् भन्ने जति सत्य हो त्यति नै उनीहरु उपेन्द्र पथका राजनीतिक पिछलग्गु हुन भन्ने पनि तीतो यथार्थ हो। यस मानेमा मधेश आन्दोलन वा अभियान जे भने पनि त्यसका अगुवा र नेता उपेन्द्र यादव नै रहे, आलोचकले माने पनि नमाने पनि।
बाबुरामका साहरा

देशका भूतपूर्व प्रधानमन्त्री, सफल अर्थमन्त्री र एकजना उम्दा बाम विद्धान डाक्टर बाबुराम भट्टराइलाई पनि चुनावी चिन्ह सापटी दिने र दलीय एकताका लागि समेत तयार अवस्थामा ल्याउन सक्नु राजनीतिक रुपमा उपेन्द्रको ठूलो उपलव्धी हो। माओवादी जनयुद्धका पूर्व कमाण्डर बाबुराम अहिले नयाँ शक्ति बनाउने रेसमा हारेर जसै संघीय समाजवादीसँग एकताको हात लम्काउँदैछन्, यो बाबुरामको राजनीतिक यात्राको बिसर्जन हो भने उपेन्दका हकमा त्यो दुर्लभ राजनीतिक जीत नै हो। मशाल चुनाव चिन्ह जस्तै उनले तराई मधेश अन्दोलनमा पनि जनताका आँखामा पर्ने गरी सरकार विरोधी नारा र विरोध चर्को स्वरमा नै लगाए। नाका नाकामा धर्ना पनि दिए। तर ती सबैका बाबजुद उनी नै बाबुरामका पनि नेता हुन सक्ने हैसियतमा निकै चलाखीपूर्वक उदाए। नेता हुनु त उपेन्द्र जस्तो भन्ने उदाहरण उनी आफुले बनाएका हुन्।

राजपालाई टक्कर


पछिल्ला दिनसम्म पनि राजपाले चुनावी सहभागिताका वार पारको कदम उठाएको छैन। ताक परे तिवारी नत्र गोतामे शैलीमा नै राजपा चुनावी सहभागिताबारे रनभुल्लमा छ। तर तराई मधेश क्षेत्रमा नै उपेन्द्र र गच्छेदारको दलले चुनावी युद्धलाई स्वीकार गरेको बेलामा राजपा मात्रै छुटेमा त्यो राजपाका लागि आत्माघाती कदम र उपेन्द्र वा गच्छेदारका लागि एकल विजयको स्वर्ण अवसर बन्ने लगभग निश्चित छ। अरुका लागि मैदान खाली गरेर जितको अवसर जुराइदिने कि आफै भिडेर जित्ने भन्ने राजपालाई पेचिलो प्रश्न हो नै हो।

मधेशवादी दलहरु अब नाम वा काम र प्रभावका हिसाबले पनि एकीकृतपथमा नै छन्। राजपाको पछिल्लो उदयमा उपेन्द्रकै बढ्दो प्रभाव नै एकहदसम्म कारक भयो। अब राजपाले काम चलाउ सरकारसँग निहुँ खोजेर चुनाव बहिष्कार गरेमा पनि त्यसले थप फाइदा हुने ग्यारेन्टी भने छैन। त्यसैले अब कि उपेन्द्र पथमा टेकेर चुनावमा जाने नत्र नासिने पथको दोबाटोका यात्री नबनी राजपा चुनावी समरमा पहिलो हुनु नै जनपक्षीय कदम हो भन्दा अतिशयोत्ति नहोला।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell