PahiloPost

Jun 10, 2025 | २८ जेठ २०८२

यी हुन् मानबहादुर जसले एक्लै पोखरामा कांग्रेस-माओवादी गठबन्धन ढाले



पहिलोपोस्ट

यी हुन् मानबहादुर जसले एक्लै पोखरामा कांग्रेस-माओवादी गठबन्धन ढाले

  • नरहरि पौड्याल -
पोखरा : पोखरा लेखनाथ महानगरपालिकाको आगामी पाँच वर्षे कार्यकालका लागि अत्याधिक मतकासाथ एमालेका मानबहादुर जिसी विजयी भएका छन्। कांग्रेस, माओवादी केन्द्रको संयुक्त गठबन्धनका उम्मेदवार रामजी कुँबरलाई फराकिलो मतान्तरले पराजित गरेका छन्। उपमेयरमा पनि एमालकै मञ्जु गुरुङ कांग्रेसकी सरस्वती गुरुङलाई पराजीत गर्दै विजयी भएकी छन्।

प्रमुखमा जिसी ६० हजार १ सय १८ मत ल्याएर वियजी भए भने निकतम प्रतिद्वन्द्वी कांग्रेसका रामजी कुँवरले ४६ हजार ४ सय १६ मत ल्याए। कुँवर झण्डै १४ हजार अन्तरले पराजीत भए। त्यस्तै उपमेयरमा पनि मञ्जुदेवी गुरुङ  ५६ हजार ४ सय ८८ मत ल्याएर विजयी भइन् भने प्रतिद्वन्द्वी कांग्रेसकी सरस्वती गुरुङले ४४ हजार ३ सय ३८ मत ल्याएकी थिइन्। 

एमालेको मेयर उम्मेदवार छनौटका क्रममा लो प्रोफाइलदेखि हाइ प्रोफाइलसम्मका आकांक्षीको भिड लागे पनि नगर कमिटीले मतदान गरी जिसीलाई अत्याधिक मतले उम्मेदवार चयन गरेको थियो।

उनीसँग प्रतिस्पर्धीका रुपमा पूर्वमेयर तथा पार्टी जिल्ला अध्यक्ष कृष्ण थापा, युवा संघका अध्यक्ष राजीव पहारीदेखि जिल्ला उप सभापति श्रीनाथ बराललाई पछि पारेका थिए।

जिसी चर्चाभन्दा काममा विश्वास गर्ने भएका कारण हाइप्रोफाइल भएर पनि मिडियाभन्दा टाढा रहेका थिए। देशकै ठूलो महानगरको शक्तिशाली मेयरमा कांग्रेसका नेता कुँबरलाई हराएसँगै उनको चर्चा सुरु भएको छ। पार्टीमा उनी एमालेका बैकल्पिक केन्द्रीय सदस्य हुन् ।
पार्टीभित्र त्याग, इमान्दारिता र नैतिकताको हिसाबले सधैं अगाडि रहेका जिसी अवसर पाउने सवालमा पछि पर्दै आएको टिप्पणी कार्यकर्ताले गर्थे। उनले मेयरको टिकट हातपारेपछि सिंगो पार्टी एकजुट भएर उनलाई जिताउन लाग्यो र पोखरामा एमालेले लालकिल्ला कायम गरिछाड्यो। 

को हुन् मानबहादुर जिसी ?
मेयरमा निर्वाचित जिसीको जन्म २०१७ भदौ १७ गते साविकको कालिका गाविस तथा हालको पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २८ मा पर्छ। उनले शिक्षा संकायमा स्नातक गरेका छन्। जिसी चार दाजुभाइ मध्ये जेठो छोरा हुन्। 

राजनीतिक यात्रा
जिसीको राजनीतिक यात्रा भने तत्कालीन माले निकट अखिलबाट सुरु भएको थियो। २०३७ सालमा अखिलको पृथ्वीनारायण क्याम्पस प्रारम्भिक कमिटीका अध्यक्ष बनेका थिए। त्यसपछि २०३९ मा जिल्ला कमिटी उपाध्यक्ष हुँदै २०४१ मा पार्टीको संगठित सदस्यता लिएका थिए। जिसी तत्कालीन कालिका गाउँ कमिटीका सचिव, इलाका कमिटी सचिव हुँदै २०५० मा जिल्ला कमिटी सदस्य भएका थिए। सोही समयमा उनी क्षेत्र नम्बर १ का क्षेत्रीय अध्यक्ष बनेका थिए।

२०६८ मा जिल्ला कमिटी सचिव (प्रमुख) भएका उनी २०६६ सालबाट पार्टी अध्यक्षात्मक प्रणालीमा गएपछि कास्की जिल्लाको एमालेको अध्यक्ष बनेका थिए। हाल उनी पार्टीका कास्की इञ्चार्ज तथा वैकल्पिक केन्द्रीय सदस्य छन्।

राजनीतिसँगै सामाजिक जिम्मेवारी 
पार्टीका विभिन्न स्थानमा रहेर कुशलतापूर्वक जिम्मेवारी बहन गरेका जिसीलाई पार्टीले तात्कालीन समयमा कामको मुल्याङ्कन गर्दै थप सामाजिक जिम्मेवारीका रुपमा साबिकको कालिका गाविसको अध्यक्षको उम्मेदवार बनाएको थियो।

२०४९ सालमा भएको स्थानीय निकायको निर्वाचनमा जिसी कालिका गाविसको अध्यक्षमा निर्वाचित भएका थिए। गाविस अध्यक्ष निर्वाचित भएको साँढे दुई दशकपछि उनी देशको ठूलो महानगरको मेयरमा निर्वाचित भएका छन्।

त्यसअघि उनी २०७० सालमा जिल्ला सुकुम्बासी आयोग कास्कीको तीन महिने अध्यक्षसमेत बनेका थिए। गाउँ विकास समिति महासंघका केन्द्रीय सदस्यकोसमेत जिसीले जिम्मेवारी निभाएका थिए। हाल एमालेको प्रदेश नं ४ को कार्यालय सचिवको जिम्मेवारीमा समेत छन्। दोश्रो संविधानसभा निर्वाचनमा कास्की क्षेत्र नम्बर १ बाट चुनाव लडेका उनी कांग्रेसका यज्ञबहादुर थापासँग पराजित भएका थिए।

जिसीका योजना र प्रतिबद्धता 
कृषिमा आधुनिकीकरण र व्यावसायमा सबलीकरणबिना आर्थिक सम्मृद्धि सम्भव नहुने भएकाले एक घर एक उत्पादन अनि व्यवस्थित जीवनशैली, उत्पादनमुखी युवा सहभागिता नै छिटो र दिगो आर्थिक विकासको मेरुदण्ड हुने जिसीको ठम्याइ छ। महिला र पुरुषको समान सहभागिता विना देशको र समाजको कुनैपनि संरचनागत सुधार हुन नसक्ने हुँदा सबै वर्ग जाति समुदायको विकास उनका अबको व्यवस्थित महानगर बनाउने आधारहरु हुन्।

प्रस्ट योजनासहित काम गरेर महानगरलाई एसियाको नमुना स्मार्ट सिटी बनाउने उनको योजना छ। त्यस्तै पर्यटनको प्रभावकारी प्रचारप्रसार र त्यसबाट प्राप्त हुने वैदेशिक आम्दानीले महानगरको गरिमा र महत्व उच्च हुने हुँदा नागरिकहरुको आर्थिक हैसियत उकास्ने योजना उनको छ।  साविकको उपमहानगरमा शहर, लेखनाथ नगरपालिकामा गाउँ शहर मिश्रित र अन्य थपिएका गाविसहरुमा ग्रामिण मनोविज्ञान रहेको भन्दै उनले सबैलाई एउटै महानगरको मनोविज्ञान तयार गर्नु आफ्नो पहिलो प्राथमिकता हुने बताएका थिए। त्यसका लागि तीनै ठाउँलाई तीन केन्द्र मानेर काम गर्ने उनको योजना छ ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell