PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

‘हिलारी स्टेप’ नभत्किएको नेपाली पथ प्रदर्शकको दावी



रासस

‘हिलारी स्टेप’ नभत्किएको नेपाली पथ प्रदर्शकको दावी
फोटो श्रोतःtexags.com

सोलुखुम्बुः नेपाली पथ प्रदर्शकले सगरमाथाको  आठ हजार मिटरमाथि रहेको ‘हिलारी स्टेप’ पहिलेकै अवस्थामा रहेको बताएका छन्।

सगरमाथाका पथ प्रदर्शक पासाङ तेन्जिङ शेर्पासहित आरोहण गरेर फर्किएका दुई नेपाली आरोही र एक पर्वतारोहण अधिकारीले सगरमाथाको चुचुरो नजिकै रहेको हिलारी स्टेप पहिलेकै अवस्थामा रहेको बताएका हुन्। 

शेर्पाले केही दिनदेखि विभिन्न सञ्चारमाध्यममा ‘हिलारी स्टेप’ भत्किएको भनेर आएको समाचारमा कुनै सत्यता नभएको बताए।
बाटो बनाउने काममासमेत संलग्न पथ–प्रदर्शक शेर्पाले हिलारी स्टेप भत्किएको नभइ हिउँले छोपिएको बताए।

उनले भने,‘यसपटक हामीले हिलरी स्टेपभन्दा छेउतिरको डिलैडिलमा बाटो बनाएका छौँ। त्यसैले हिलरी स्टेप नदेखिएर ती आरोहीलाई भ्रम परेको हुनसक्छ। हिलरी स्टेप जहाँ थियो र जस्तो थियो, त्यस्तै छ।’

हिमपहिरो र भूकम्पका कारण सन् २०१४ र २०१५ मा आरोहण हुन नसकेपछि सन् २०१६ मा आरोहण खुलाउन केही रुट परिवर्तन गरिएका थिए।

त्यस क्रममा ‘हिलारी स्टेप’नाम दिइएको चट्टानबाट नभइ त्यही चट्टानको दाहिनेतिरबाट बाटो खुलाइएको थियो। यसपटक पनि गतवर्षकै बाटोलाई निरन्तरता दिइएको छ। 

करिब ८,००५ मिटर नजिक साउथ समिट आसपासका क्षेत्रलाई हिलरी स्टेपको नामले चिनिन्छ।

पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका दुई आरोहीमध्येका एक सर एडमण्ड हिलरीको नाममा उक्त भागको नाम हिलरी स्टेप राखिएको थियो। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell