
काठमाडौँ : नेकपा एमालेले प्रदेश नम्बर ५ का चार उपमहानगरपालिको उम्मेद्वारको टुङ्गो लगाएको छ। एमाले स्थायी समिति बैठकले जेठ ३१ गते हुने निर्वाचनका लागि उम्मेद्वार तोकेको हो।
एमालेले नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुखमा समसुद्दिन सिद्दिकी, उपप्रमुखमा शान्ता ढकाललाई उम्मेद्वार चयन गरेको छ। नेपालगञ्ज क्षेत्रमा मुसलमान बाहुल्य रहेकाले एमालेले मेयरमा मुसलमान उम्मेद्वार छानेको हो।
त्यस्तै दाङको तुलसीपुर उपमहानगरको प्रमुखमा घनश्याम पाण्डेलाई उम्मेद्वार बनाउने निर्णय स्थायी समितिले लिएको छ। उपप्रमुखमा भने माया आचार्यको नाम टुङ्गो लगाएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकरी दिए। पाण्डे यसअघि भएको स्थानीय निकायको निर्वाचनमा तुल्सीपुर नगरपालिकाका उपप्रमुख थिए।
त्यस्तै दाङकै घोराही उपमहानगरपालिको प्रमुखमा नरुलाल चौधरी र उपप्रमुखमा सीता न्यौपानेको नाम एमालेले टुङ्गो लगाएको छ। एमालेले महानगरपालिका र उपमहानगरपालिकाको उम्मेद्वारको अन्तिम टुङ्गो स्थायी समितिबाट लगाउने निर्णय यसअघि गरेको थियो। चौधरी एमाले केन्द्रीय समिति सदस्य समेत हुन्
त्यस्तै प्रदेश ५ कै रुपन्देहीको बुटवल उपमहानगरमा शिवराज सुवेदीलाई मेयरको र गोमा आचार्यलाई उपप्रमुखको उम्मेद्वार बनाउने निर्णय एमालेले लिएको छ। शिवराज सुवेदी एमालेका रुपन्देहीका जिल्ला अध्यक्ष हुन्।