काठमाडौं : युवा गायक तुल साम्सुहाङ राईले गाएका आधुनिक तथा पप गीतहरुको एल्बम ‘सुरुवात’ शुक्रवार काठमाडौंमा लोकार्पण गरिएको छ। वरिष्ठ संगीतकार गणेश रसिक, गायिका कुन्ति मोक्तान, कलाकार प्रकाश आङ्देम्बे तथा साहित्यकार उपेन्द्र सुब्बाले संयुक्त रुपमा उक्त एल्बम सार्वजनिक गरेका हुन्।
विगत चार वर्षदेखि अमेरिकामा बसोबास गरिरहेका गायक राईको यो पहिलो एल्बम हो। एल्बममा माया, दिन बित्छ पखाईमा, चञ्चले कान्छीको, लाखौं जुनी, जून मुस्काइ रहेछ, केवल तिम्रो तथा गोर्खे सलाम शीर्षकका सात वटा गीतहरु समावेश छन्।
एल्बमका गीतमा बाबु बोगटी, किरण गजमेर, डम्बर नेपाली, प्रताप सुब्बा, गणेश सेन्चुरी, प्रवेश राई तथा टंक बुढाथोकीको संगीत निर्देशन छ। गीतमा सौरभ तिम्सिना, डम्बर नेपाली, प्रताप सुब्बा, नविन प्राचिन, विश्वास लामा तथा टंक बुढाथोकीको शब्द सुन्न सकिन्छ भने बाबु प्रधान, मोहित मुनाल, अशोक लोहारुङ राई, सुजिल कर्माचार्य तथा टंक बुढाथोकीको संगीत संयोजन छ।
एल्बमलाई तुलसी ईन्टरटेन्मेन्टले बजार व्यवस्थापन गरेको छ। विमोचन समारोहमा एल्बमको ‘माया...’ गीतको म्युजिक भिडियो पनि प्रिमियर गरिएको छ।