PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

कांग्रेसले राजपालाई भन्यो : प्राप्त उपलब्धि रक्षा गर्न आउनुस् चुनावमा जाऔं



रमेश वाग्ले

कांग्रेसले राजपालाई भन्यो : प्राप्त उपलब्धि रक्षा गर्न आउनुस् चुनावमा जाऔं

काठमाडौं : नेपाली कांग्रेसले राष्ट्रिय जनता पार्टीलाई प्राप्त उपलब्धिको रक्षा गर्ने भन्दै चुनावमा सहभागी हुन प्रस्ताव गरेको छ। कांग्रेसले राष्ट्रिय जनता पार्टीका अध्यक्षमण्डलका नेतालाई पार्टी कार्यालय सानेपामा डाकेर निर्वाचन नभए सबैं उपलब्धि गुम्न सक्ने भन्दै अहिले चुनावमा सहभागी हुने र सबै समस्याको समाधान निकाल्दै जाने प्रस्ताव गरेको हो। 

'नेपाली कांग्रेसले संविधान संशोधन गर्न प्रयास गरेकै हो, तर संविधान संशोधनका लागि आवश्यकक दुई तिहाई मत कांग्रेस र माओवादीले मात्र पुग्दैन,' कांग्रेस नेता तथा उप प्रधानमन्त्री विमलेन्द्र निधिले भने, 'पछिल्लोपटक गरेको प्रयासमा राप्रपाका केही सांसद नै अनुपस्थित हुने भएपछि त्यसलाई स्थगित गर्नुपरेको हो।'

उनले मधेशी मोर्चाले निर्वाचनमा सहभागी हुन आवश्यक ऐन संशोधन गर्न भने सरकार तयार रहेको बताए।

'ऐन संशोधन गरेर उहाँहरुलाई चुनावमा सहभागी गराउन विहानको बैठकमा एमाले तयार देखिएको छ,' निधिले भने, 'चुनावमा जान तयार भए संविधान बाहेकका ऐन संशोधन गरेर वातावरण बनाउन सरकार तयार छ।'

मोर्चाले भने संविधान संशोधन र स्थानीय तहको संख्या थप्ने काम नभएसम्म चुनावमा नजाने अडान दोहोर्‍याएको छ। 'उपलब्धिको रक्षा गर्ने हाम्रो पनि चाहना हो र हामी मधेशी जनताको अधिकारलाई अगाडि राखेर त्यसका आधारमा राजनीति गर्न खोजिरहेका छौं,' राजपा अध्यक्ष मण्डलका नेता शरदसिंह भण्डारीले भने, 'त्यसका लागि सबैभन्दा ठूलो मधेश आन्दोलनलाई 'सेफल्याण्डिङ' त गर्नु पर्‍यो नि।'

अध्यक्ष मण्डलका अर्का नेता राजेन्द्र महतोले केही निश्चित विषय सम्बोधन हुन नसक्दासम्म मधेश आन्दोलन रोक्न र चुनावमा सहभागी हुन सम्भव नहुने बताए। 

'संविधान संशोधन गर्नुपर्‍यो, स्थानीय तहको संख्या जनसंख्याका आधारमा थप्नुपर्‍यो, मधेश आन्दोलनका शहीद परिवारलाई क्षतिपूर्ति दिनुपर्‍यो, घाइतेको उपचार गर्नुपर्‍यो,' महतोले भने, 'त्यसपछि त हामीलाई कसैले रोक्न खोजे पनि चुनावमा गइहाल्छौं नि।' 

संख्या बढाउन त सर्वोच्चले रोकेको छ नि भन्ने प्रश्नमा महतोले भने, 'सर्वोच्चको आदेश हामीलाई थाहा छैन, कहिले सरकारले रोक्ने कहिले प्रतिपक्षले रोक्ने कहिले अदालतले रोक्ने कुरा हामी मान्दैनौं।' 

उनले सर्वोच्च वा अरु कुनै बहानाभन्दा पनि सरकारले राजनीतिक निर्णय गर्नुपर्ने बताए। 

'हाम्रो कुरा सरकारसँग हो। सर्वोच्चले वा प्रतिपक्षले के भन्छ थाहा छैन,' महतोले भने, 'हामीलाई स्थानीय तह जनसंख्याका आधारमा हुनुपर्‍यो। मधेशमा स्थानीय तहको संख्या बढ्नुपर्‍यो।' 

नेता भण्डारीले भावी प्रधानमन्त्रीका हैसियतमा देउवालाई समस्या समाधान गर्न आग्रह गरेको बताए। 'निर्वाचन आयोगले प्राविधिक काम गर्ने हो, राजनीतिक निर्णय सरकारले नै गर्ने हो,' भण्डारीले भने, 'अब सरकारको नेतृत्व गर्दै हुनुहुन्छ भने उहाँले पनि निर्णय गर्नुपर्‍यो', राजनीतिक निर्णयमा कसैले च्यालेञ्ज गर्न सक्दैन।' 

बैठकपछि कांग्रेसले प्रतिपक्षी दल, मधेश केन्द्रित दल र बुद्धिजीवीसहितको छलफलबाट निर्णयमा पुग्ने भन्दै चाँडै बहुपक्षीय बैठक राख्ने तयारी गरेको जनाएको छ। 

भण्डारीले आजको छलफलमा नयाँ सरकार गठन र सर्वोच्चको फैलसलाका विषयमा छलफल नभएको जनाए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell