
काठमाडौं : शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा यही जेठ २३ गतेदेखि हुने राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई बहुउद्देश्यीय पेन्ट कम्पनी केएनपी जापान प्रालिले मुख्य प्रायोजन गरेको छ।
शनिबार बानेश्वरमा आयोजित कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष रन्जन खड्का र बहुउद्देश्यीय पेन्ट कम्पनी केएनपी जापान प्रालिका कन्ट्री डाइरेक्टर मनोज मिश्रले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
सम्झौता अनुसार प्रतियोगिता ‘केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिता’को नामबाट सञ्चालन हुनेछ। मुख्य प्रायोजन गरेबापत कम्पनीले आयोजकलाई नगद पाँच लाख उपलब्ध गराउने छ।
कन्ट्री डाइरेक्टर मिश्रले भलिबल खेल नेपालको राष्ट्रिय खेल भएकोमा बधाई दिदैं आगामी दिनमा पनि भलिबललाई प्राथामिकता दिने प्रतिवद्धता जनाए। उनले खेल क्षेत्र कुनै पनि देशको मानचित्र पहिचान गराउने माध्यम रहेकोले सबैले खेल विकासमा ध्यान पुर्याउनु पर्नेमा जोड दिए।
कार्यक्रममा नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमन शर्मा र महासचिव जितेन्द्र चन्दलगायतको उपस्थिति रहेको थियो। कम्पनीले मञ्च व्यवस्थापन, व्यानरलगायतका सम्पूर्ण खर्च व्यहोर्ने छ।
यस्तै प्रतियोगिताको सह–प्रायोजकका रुपमा शिवम् सिमेन्ट रहेको छ भने विशेष सहयोगीका रुपमा राष्ट्रिय खेलकुद परिषद्, नेपाल भलिबल संघ, आइएमई रेमिट र डल्फीन चियरले साथ दिएका छन्।
लिगकम नकाउटका आधारमा जेठ २३ देखि २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा एपीएफ, न्यु डायमन्ड, नेपाल पुलिस क्लब, पश्चिमाञ्चल भलिबल संघ, त्रिभुवन आर्मी क्लब र जावलाखेल भलिबल प्रशिक्षण केन्द्र गरी ६ टोलीको सहभागिता रहने छ।
प्रतियोगिताका विजेताले एक लाख ५० हजार, उपविजेताले एक लाख र तेस्रो हुने टोलीले नगद ५० हजार रुपैयाँ प्राप्त गर्ने छन्। प्रतियोगिताका सम्पूर्ण खेल त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा हुनेछ।