
काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय मानव अधिकार आयोगका सिफारिस कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्।
आयोगको १७ औं वार्षिकोत्सवका अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले आयोगले गरेका सिफारिस कार्यान्वयनमा सरकारले प्राथमिकता दिएको बताए।
उनले प्रत्येक वर्ष सरकारले क्षतिपूर्ति, राहत र भरणपोषणमा बजेट बृद्धि गरेको, आरोपित व्यक्तिलाई विभागीय कारवाही गरिएको जानकारी समय समयमा आयोगलाई प्रेषित गरिरहेको बताए।
लोकतन्त्र, मानवअधिकार र कानूनी शासन एक अर्काका परिपूरक भएका भन्दै प्रधानमन्त्रीले सबैले सामूहिक रुपमा कानुनी शासनको पक्षमा काम गर्नुपर्ने बताए।
उनले आयोगको स्वतन्त्रता र स्वायत्ततालाई कतैबाट आँच आउन नदिन सरकार सदैव प्रतिवद्ध रहेकोसमेत बताए।