
- नरहरि पौड्याल -
पोखरा : पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले आफ्नो बहुमत ल्याएपछि मात्र सरकारमा जाने बताएका छन्। उनले एमाले कुनै जस्केला, फस्केला बाटो रोजेर सरकारमा नजाने बताएका हुन्।
‘अनेक प्रकारका कागज, अनेक प्रकारका सम्झौता गरेर नचाहिने अनावश्यक कुराहरु स्वीकारेर सरकारमा जाने हैन,’ उनले भने, ‘एमाले जनताको विश्वास जितेर बहुमतका साथ सरकारमा जान्छ।’
नेकपा एमाले पोखरा लेखनाथ महानगर कमिटीद्वारा आयोजित पोखरा लेखनाथ महानगरपलिका विजयोत्सव समारोहलाई सम्बोधन गर्दै नेता ओलीले सो कुरा बताएका हुन्।
सरकारले एकपछि अर्को गल्ती गर्दै गएको बताउँदै नेता ओलीले सीमाङ्कन बारेको संशोधन प्रस्ताव र सर्वोच्च अदालतका प्रधानन्यायाधीश माथिको महाभियोग जस्ता गैर जिम्मेवार कार्य गरी तमासा देखाएको बताए। ओलीले पहाड, तराई टुक्र्याएर सीमाङ्कन बारेको संशोधन प्रस्ताव र न्यायाधीशमाथिको महाभियोग प्रस्ताव दुवैमा सरकार असफल भएको भनी व्यङ्ग्य समेत गरे।
नेता ओलीले राजपालाई देखाएर सरकारले निर्वाचन भाड्न खोजेको बताए। ‘राजपालाई सरकारले भड्काएको हुन सक्छ,’ उनले भने ‘निर्वाचनमा आउन तयार भएको दल किन आन्दोलनमा जाने थियो त?’ उनले राजपालाई निर्वाचनमा भाग लिन आग्रह गर्दै निर्वाचन पछि सबै कुरामा छलफल गरेर समस्याको समाधान निकाल्ने बताए।
ओलीले नवनिर्वाचित प्रतिनिधिहरुले प्रतिबद्धता व्यक्त गरेका विकास निर्माणका कार्यले तिब्रता पाउने बताए। महानगरका प्रमुखले भ्रष्टाचाररहित महानगरपालिका बनाउन व्यक्त गरेको प्रतिबद्धताको उनले खुलेर प्रशंसा गरे। पार्टीले सरकार चलाएपछि मुलुकबाटै भ्रष्टाचार अन्त्य हुने समेत ओलीले बताए।
पोखरामा अन्तरार्ष्ट्रिय बिमानस्थल निर्माण छिट्टै सम्पन्न हुने बताउँदै ओलीले पोखरा-काठमाण्डौं रेलमार्ग निर्माण हुने बताए। उनले राजमार्ग फराकिलो बनाएर ४ लेनको बनाउने योजना आफ्नो सरकारको बेला अगाडि बडाएको बताए। निर्वाचित जनप्रतिनिधिहरुलाई जनताको समस्या तत्काल समाधान र विकास निर्माणका कार्यलाई द्रुत पार्न ओलीले आग्रह गरे।
पोखराका नवनिर्वाचित मेयर मानबहादुर जिसी र उपमेयर मञ्जु गुरुङले आफुले प्रतिबद्धता व्यक्त गरेका प्रतिबद्धतालाई तत्कालै अगाडि बढाउने बताए। उनीहरुले आफ्ना घोषणापत्रमा भएका ५ प्रतिवद्धतालाई कुनै पनि हालतमा ५ वर्षमा पूरा गर्ने बताए।
पोखराको चिप्लेढुङ्गाबाट सुरु भएको विजय उत्सव र्याली पोखराको अमरसिंह चोकमा पुगेर सभामा परिणत भएको थियो। सभामा पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख उपप्रमुखमा विजयी तथा वडा अध्यक्ष र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, सदस्यलाई ओलीले माला र अबिरले सम्मान गरेका थिए।