
बेन स्टोकको शतक प्रेरित इंगल्याण्डले दक्षिण अफ्रिका विरुद्ध ३ खेलको वान डे सिरिज आफ्नो पक्षमा पारेको छ। मार्क उडले अन्तिम ओभरमा ४ रन मात्र दिएपछि इंगल्याण्डले दक्षिण अफ्रिकालाई सेकेण्ड वान डे मा २ रनले पराजित गरेको हो।
३३१ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले पूरै ५० ओभर खेल्दा ५ विकेट गुमाएर ३२८ रन मात्र बनाउन सक्यो। अन्तिम ओभरमा दक्षिण अफ्रिकालाई जितका लागि ७ रन आवश्यक थियो। तर बलर उडले ४ रन मात्र दिएपछि इंगल्याण्डले २ रनको रोमाञ्चक जित हासिल गरेको हो।
साउथह्याम्पटनमा दक्षिण अफ्रिकाले टस जितेर फिल्डिङ रोजेपछि घरेलु टोली इंगल्याण्डले पहिले ब्याटिङ गर्दै ६ विकेट गुमाएर ३३० रन बनायो। इंगल्याण्डका लागि बेन स्टोकले ७९ बलमा ११ चौका र ३ छक्का प्रहार गर्दै १०१ रन बनाए। यस्तै जोस बटलरले नटआउट ६५ रन जोडे भने कप्तान इयान मोर्गनले ४५ रनको योगदान गरे। दक्षिण अफ्रिकाका लागि खागिसो रबाडाले २ विकेट लिए।
जवाफमा दक्षिण अफ्रिकाले ३२८ रन बनायो। दक्षिण अफ्रिकाका क्वेन्टन डे कक शतक बनाउन बाट २ रनले चुके। १०३ बल खेलेका ककले ११ चौकाको मद्दतमा दक्षिण अफ्रिकाका लागि सर्वाधिक ९८ रन बनाए। यस्तै कप्तान ए बी डे भिलियर्सले ५२ रनको योगदान गरे। डेविड मिलर ७१ तथा क्रिस मोरिस ३६ रनमा नटआउट रहे। इंगल्याण्डका लियम प्लनकेटले ३ विकेट लए।
थर्ड वान डे यही सोमबार लर्ड्मा हुनेछ।