PahiloPost

Jun 12, 2025 | ३० जेठ २०८२

आर्सनल कीर्तिमानी १३औं पटक एफएफ कप च्याम्पियन



पहिलोपोस्ट

आर्सनल कीर्तिमानी १३औं पटक एफएफ कप च्याम्पियन

आर्सनलले कीर्तिमानी १३औ पटक इंगलिस एफए कपको उपाधि जितेको छ। शनिबार भएको फाइनल खेलमा प्रिमियर लिग च्याम्पियन चेल्सीलाई २-१ ले पराजित गर्दै आर्सनलले सर्वाधिक १३ पटक एफए कप जित्ने किर्तिमान बनाएको हो।

वेम्ली स्टेडियममा भएको खेलमा एलेक्स सान्चेजले पाँचौ मिनेटमै गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलले पछि परेको चेल्सीका लागि ६८औं मिनेटमा भिक्टर मोसेसले दोहोरो पहेँलो (रातो) कार्ड पाएपछि अर्को झड्का लाग्यो। तर ७६औं मिनेटमा एक खेलाडी कम भएको चेल्सीका लागि डिएगो कोस्टाले बराबरी गोल फर्काए।

बराबरी गोल फर्काएर उत्साहित बनेको चेल्सीको खुशी लामो समय टिक्न सकेन। ७९औं मिनेट आरोन राम्सले हेड मार्फत गोल गरेपछि आर्सनलले २-१ को अग्रता बनायो। त्यसलाई अन्त्यसम्म कायम राख्दै आर्सनल च्याम्पियन बनेको हो।

लिगमा पाँचौ बन्दै २० वर्षयता युरोपियन च्याम्पियन्स लिगमा छनौट हुन असफल बनेको आर्सनलका लागि एफएए कपको उपाधि राहत बनेको हो। यस्तै क्लबका व्यवस्थापक आर्सनल वेंगर सर्वाधिक ७ पटक एफए कपको उपाधि जित्ने पहिलो म्यानेजर पनि बनेका छन्।

यता आर्सनलले सर्वाधिक १३ पटक एफए कप च्याम्पियन बन्ने क्रममा म्यानचेष्टर युनाइटेडलाई पछि पारेको छ। गत वर्ष च्याम्पियन बन्दै युनाइटेड आर्सनलसँग सर्वाधिक १२ उपाधि जित्ने कीर्तिमान बराबर गरेको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell